
नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको छ ।
शुरूमा अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दिएको आदेशबमोजिम मंगलवार दर्ता भएको थियो ।
अधिवक्ता विमल पोखरेलले संसद् सचिवालयसमेतलाई विपक्षी बनाएर कांग्रेसलाई दिइएको प्रमुख प्रतिपक्षी दलको मान्यता खारेज गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
शुरूमा सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले गत माघ १८ गते सो रिट दरपीठ गरिदिएका थिए ।
दरपीठविरुद्ध पोखरेल अर्को निवेदन लिएर सर्वोच्च पुगेका थिए । निवेदनमाथि सुनुवाइपछि सर्वोच्चले दरपीठ बदर गरिदिएको थियो ।