
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा मंगलवारदेखि क्यान इन्फोटेक २०२३ शुरू भएको छ ।
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ६ दिनसम्म सञ्चालन हुने बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन् ।
मोबाइल एपमार्फत पानसमा बत्ती बालेर मन्त्री शर्माले २८औं संस्करणको क्यान इन्फोटेक औपचारिक रूपमा उद्घाटन गरेकी हुन् । सो अवसरमा ड्रोनबाट पुष्पवृष्टि समेत गरिएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री शर्माले प्रविधिको प्रयोगले अहिले सेवा लिन र दिन सहज भएकाले यस क्षेत्रको विकासमा राज्यको सहयोग हुने बताइन् । ‘सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सके विभिन्न ठाउँमा हुने गरेको अनियमितता कम हुन्छ,’ उनले भनिन्, ‘यसकारण सरकार र मन्त्रालय यो क्षेत्रको विकासका लागि निरन्तर लाग्नेछ ।’
मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा योजनाबद्ध काम गर्न आफूले पहल गरिरहेको बताइन् । विगतमा राजीनतिक अस्थिरताका कारण राज्यले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन नसकेको चर्चा गर्दै उनले आफ्नो नेतृत्वमा योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाइन् ।
चाँडै नै आईटी कानून बनाई यस क्षेत्रको व्यवस्थापन गर्न ध्यान दिने पनि उनले उल्लेख गरिन् । सूचना प्रविधि क्षेत्रलाई शिक्षा, कृषिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।
नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन तथा यस क्षेत्रमा देखिएका समस्याको समाधानका लागि निजी क्षेत्र र सरोकारवालाको सहयोग आवश्यक रहेको पनि उनले बताइन् ।
क्यान इन्फोटेक उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमै तयार भएका वस्तु एवं सेवालाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । महासंघले भिजन २०२० मा आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले स्वदेशमा दक्ष जनशक्ति तयार पारी उनीहरूलाई यहीँ अवसर दिन सरकारसँग सहज वातावरणको माग राखे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा सूचना प्रविधि सम्बन्धी स्पष्ट नीति र एकद्धार प्रणाली नहुँदा यो क्षेत्र पछि परेको औंल्याए । सूचना प्रविधिको विकासमा ध्यान दिन सके मुलुक आत्मनिर्भर बन्ने विश्वास उनले व्यक्त गरे ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले सूचना प्रविधि क्षेत्रमा विदेशी कम्पनी एवं वैदेशिक लगानी भित्र्याउन सके देशले लाभ उठाउनसक्ने विचार राखे । उनले आईटी शिक्षामा कोटा प्रणाली अन्त्य हुनुपर्ने माग समेत राखे ।
क्यान महासंघका अध्यक्ष रणजीत पोदारले विश्वमा आर्थिक मन्दीको त्रास र नेपालमा वैदेशिक मुद्रा सञ्चितीमा देखिएको समस्याबीच सूचना प्रविधि व्यवसाय अगाडि बढिरहेको सन्दर्भ राख्दै सरकारले सहज नीति र कार्यक्रम ल्याउने हो भने आईटी क्षेत्रबाट मनग्गे वैदेशिक मुद्रा भित्र्याउन र लाखौंको रोजगारी सिर्जना गर्न सकिने बताए । यस क्षेत्रमा आवश्यक नीति र पूर्वाधारको सही व्यवस्थापन हुन नसक्दा देशको राष्ट्रिय सुरक्षा र हितमा खलल पुग्ने गरी देशभित्र र देश बाहिरबाट साइबर हमलाको खतरा भइरहेको पनि उनले उल्लेख गरे ।
डिजिटल नेपालको फ्रेमवर्कले लिएको सार्वजनिक निजी साझेदारीको माध्यमबाट विश्वसनीय सूचना तथा सञ्चार प्रविधि पूर्वाधार स्थापना र यसैसँग सम्बन्धित पछिल्लो समय विद्युत् पोल भाडाको विषयमा देखिएको समस्याको समाधानका लागि अध्यक्ष पोदारले मन्त्री शर्मासँग अभिभावकीय भूमिकाको अपेक्षा राखे ।
क्यान इन्फोटेक २०२३ को टाइटल स्पोन्सर इन्फोडेभर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले नेपाली पुँजी, सीप र मेहनतलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । स्वदेशमै उत्पादित उत्पादनको प्रवद्र्धनका लागि उनले नेपाल सरकारको प्रेरणादायी भूमिका आवश्यक रहेको विचार राखेका छन् ।
क्यान इन्फोटेक २०२३ को एसोसिएट स्पोन्सरमा डिशहोम फाइबरनेट रहेको छ । डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, ह्वावे र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् ।
टिकेटिङ पार्टनरमा पेवेल, बैंकिङ पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर आईएमई जनरल इन्स्योरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेसनल स्कूल फर स्किल्स, फूड एण्ड बेभरेज पार्टनर र्याकेट बार एण्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सीसीटीभी पार्टनर ई थ्रिरी सेल्स एण्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका छन् ।
प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देश–विदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको छ । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत छन् ।
यसपटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । उनका अनुसार मेलामा कूल २०० स्टल रहेका छन् ।
मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका छन् । यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट योजना पनि सार्वजनिक गरेका छन् । आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका छन् ।
क्यान इन्फोटेक अवसर पारी नेपाल पर्यटन बोर्डको सभाहलमा माघ २५ गतेदेखि २८ गतेसम्म क्यान आईसीटी सम्मेलन हुँदैछ । यसअन्तर्गत माघ २५ गते इन्डस्ट्री र एकेडेमिया बीचको ग्यापका विषयमा सेमिनार हुनेछ । माघ २६ गते ब्लकचेन प्रविधि र माघ २८ गते फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टम गरी २ विषयमा सेमिनार हुनेछ ।
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रूपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकाय, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ ।

सन् १९९२ मा स्थापना भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ/संस्था र व्यवसायीहरुको छाता संगठन हो । यो गैरराजनीतिक, गैरनाफामूलक चरित्रको संस्था हो । यसले सूचना तथा सञ्चार प्रविधि सम्बन्धी व्यवसायी तथा विज्ञहरूको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधि सम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजीकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिँदै आएको छ । क्यान सन् २०१५ मा कम्प्युटर एशोसिएशन नेपाल महासंघमा रूपान्तरित भएको हो ।