१६ असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

डाक्टर कुट्ने प्रहरी निलम्बित, शान्त भएन चिकित्सक संघ

डाक्टर कुट्ने प्रहरी निलम्बित, शान्त भएन चिकित्सक संघ

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल चिकित्सक संघले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । संघले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष डा लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
००००
यसैगरी  स्वास्थ्य मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ । डाक्टर कुटपिट प्रकरणमा आक्रोशित बनेको संघले आइतबार आइतबार सेवा ठप्प पारेको सन्दर्भमा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो ।
००००
नेपाल प्रहरीले डाक्टर कुटपिटपछि उत्पन्न परिस्थितिका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ । प्रहरीले शनिवार विज्ञप्ति जारी गर्दै पेसागत संवेदनशीलतालाई मध्यनजर गरी समभावका साथ परिस्थितिलाई सामान्यीकरण गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकृत सीताराम रिजालले जारी गरेको विज्ञप्तिमा डाक्टरमाथि कुटपिट गर्ने प्रहरीमाथि निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख छ ।
यसअघि नै प्रहरीले डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरिसकेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।
००००
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन् । उनले जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए । 
नवलपरासीको गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शनिबार नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताए ।
००००
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन् । सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएको बताए । उक्त अन्योलताबाट मुक्ति दिलाउन कांग्रेसले प्रयत्न गरिरहेको उनको भनाइ छ ।
००००
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यससँगै लुम्बिनीको १० सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
००००
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् । यस्तै महासचिवमा युवा नेतृ रञ्जु दर्शना चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए । 
काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन् । 
यसैगरी सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन भएका छन् भने कोषाध्यक्ष दामोदर नेपाल सर्वसम्मत भएको दाहालले जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकास एकअर्काको परिपूरक रहेको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकार लागिपरेको उल्लेख गर्दै जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘सुशासन र विकास एक अर्काका परिपूरक हुन् । जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध छ ।’
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासनिक सेवालाई डिजिटल माध्यमबाट गर्दा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् । ३२ औं अख्तियार स्थापना दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । 
००००
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन्।
शनिबारबाट काठमाडौंमा शुरू राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताहरूले नै भन्ने गरेका बताए।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का दिइएको भन्दै देशैभरि यो क्रम बढ्ने बताएका छन् ।

जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमालेले काम छैन भनेर आलोचना गरेको पार्टीले नै अब धक्का दिन सुरुवात भएको बताएका हुन् ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार संघीय सांसदहरुको सम्मानमा शीतल निवासमा चियापान का गरेकी छन् । कार्यकाल सकिन लागेकाले नवनिर्वाचित सांसदलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन चियापान कार्यक्रमको आयोजना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्