
राष्ट्रपति तथा उपराष्ट्रपतिको आगामी निर्वाचन र समसामयिक राजनीतिका विषयमा निर्णय लिन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आइतबार विहान ९ बजेपछि बैठक बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।
आजको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका सम्बन्धमा गम्भीर छलफल हुने बताइएको छ । त्यस्तै, मन्त्रिपरिषद पूर्णताबारे पनि छलफल हुने सचिवालयका सदस्यहरुको भनाइ छ । यसअघि शुक्रबार बसेको बैठकमा चार दलको मात्र सहभागिता थियो । राजपा, रास्वपा र नागरिक उन्मुक्ति पार्टीका नेताहरुको सहभागिता थिएन । रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा संयन्त्रमा छलफल जारी छ । यसअघि शुक्रबारको बैठकमा पनि सो विषयमा छलफल भएको थियो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र छ । त्यसमा सत्ता साझेदार दलबाट माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी सदस्य छन् ।