
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका नागरिक उन्मुिक्त पार्टीका संरक्षक रेशम चौधरीका परिवारसँग भेट गरेका छन् ।
शनिबार उनले कैलालीको जानकी–९ जगतपुरस्थित चौधरीको घरमै पुगेर परिवारका सदस्यसँग भेटघाट गरेका हुन् । उनले रेशम लगायतकालाई जेलमुक्त गराउन आफू लागिपर्ने आश्वासन दिए ।
उनले उक्त घटनालाई राजनीतिक रुपमा नै समाधान खोजिनुपर्ने बताए । रेशम चौधरीकी ६८ वर्षीया आमा सुनफीदेवी चौधरीबाट आशिर्वाद लिँदै मुख्यमन्त्री शाहले भने, “म पनि तपाईँको छोरा हो । चिन्ता नलिनुहोला । रेशम जीलाई छुटाउने म अथक प्रयास गर्ने छु ।”
टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस् पुगेको उनको भनाइ थियो । मुख्यमन्त्री शाहले भने, “टीकापुर घटनाले यस क्षेत्रको हरेक कोणबाट बदनाम गर्ने काम भइरहेको छ । वर्षौदेखि मिलेर बसेको समाजमा फाटो ल्याउने काम भइरहेको छ । अब त्यो तपाईँ हामी सबैले बुझ्नुपर्छ । सबै सजग हुनुपर्छ ।”
मुख्यमन्त्री शाहले शनिबार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सङ्घीय सांसद रञ्जिता श्रेष्ठसँग भेटवार्तासमेत गरेका छन् ।