
काठमाडौं, ७ भदौ – प्रदेश नम्बर एकमा पेट्रोलियम पदार्थ भण्डारण गर्ने उदेश्यले आयल निगमले किनेको जग्गाको निरीक्षण गर्न गएका सांसदहरुले जग्गा खरिदमा अनियमितता भएको ठहर गरेका छन् ।
संसद्को उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समितिले जग्गा खरिदमा प्रक्रिया मिलाएर अनियमितता भएको जनाएको छ । झापाको मेचीनगर १३ स्थित चारआलीमा नेपाल आयल निगमले किनेको जग्गामा अनियमितता भएको सांसद् रामवीर मानन्धरले बताए ।
निगमले त्यहाँ २३ विघा ३ कठ्ठा १३ धुर जग्गा किनेको थियो । एक विघा जमिनमा १६ कठ्ठा हुन्छ । निगमले यहाँको सबै जग्गा प्रतिकठ्ठा साढे १३ लाखका दरले किनेको छ ।
मानन्धरले त्यहाँको जग्गा ३३ हजारदेखि साढे पाँच लाखसम्म प्रतिकठ्ठाका दरले स्थानीयले निगमलाई बेचेको बताए । तर निगमले सबै जग्गा साढे १३ लाख रुपैयाँ कठ्ठामा किनको कागज मिलाएको छ । सांसद दीपक कार्की समेत अनुगमनमा निस्किएका छन् ।
सांसद्हरुको समूहले झापा पछि सर्लाहीको जग्गाको अनुगमन गर्ने बताएका छन् । किनिएकै ठाउँमा जग्गा भेटिएको भएपनि भाउ चाहिँ महंगो फेला परेको मानन्धरले बताए । ‘उपयुक्त ठाउँमा जग्गा किनिएको छ, तर डबल भन्दा धेरै महंगो भाउ देखाइएको छ,’ उनले भने, ‘यहाँका स्थानीयहरूले अहिले महंगोमा बेचेको जग्गा साढे पाँच लाखमा बेचिएको बताएका छन् ।’
निगमले साढे ३३ हजारदेखि साढे पाँच लाख सम्ममा जग्गा किनेको हो । तर निगमले कागजपत्रमा साढे १३ लाखका दरले जग्गा किनेको देखाएको छ ।
जग्गा बेच्ने स्थानीयहरुले आफूहरुले पाँच लाख भन्दा बढी महंगोमा जग्गा नबेचेको बताए । तर निगमले कसरी कागज मिलाएको हो आफूहरुलाई थाहा नभएको उनीहरुले बताए ।
‘हामीले पाँच लाख प्रति कठ्ठा भन्दा महंगोमा जग्गा बेचेका छैनौैं,’ एक स्थानीयले भने, ‘तर आयल निगमले कसरी कागजपत्र मिलाएको हो हामीलाई थाहा भएन ।’ झापा जस्तो ठाउँमा प्रतिकठ्ठा जग्गालाई १३ लाख नपर्ने समेत उनले बताए ।