सिन्धुपाल्चोक, भदौ - “मन्त्रीज्यू टेलिकमको टावरले राम्रोसँग काम गर्दैन, सदरमुकामजस्तो ठाउँमा मोबाइलले फोन गर्न पनि डाँडा चढ्नुपर्छ”, बधाई तथा शुभकामनाका लागि गृहजिल्ला सिन्धुपाल्चोक पुगेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसँग स्थानीय बासिन्दाको गुनासो हो यो, गोरखापत्रमा खबर छ ।
नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ को अगुवाइमा बुधबार चौतारामा आयोजना गरिएको मन्त्री बस्नेतको बधाई तथा शुभकामना र क्षेत्र नम्बर २ बाट विजयी स्थानीय जनप्रतिनिधिहरूको सम्मान कार्यक्रममा स्थानीय जनप्रतिनिधि र जिल्लावासीका गुनासा मन्त्री बस्नेतकै मन्त्रालय मातहतको निकायमा केन्द्रित थिए ।
सञ्चारमन्त्री बस्नेतले गृहजिल्लामा नै टेलिकमको समस्या देखिएपछि तत्कालै सुधारका लागि निर्देशन दिइसकेको बताए । स्थानीय नगरवासी तथा मतदाताको बधाई ग्रहणपछि मन्तव्यमा उनले भने , “सिन्धुपाल्चोकको मात्र होइन देशभरको टेलिकम सेवा गुणस्तरीय बनाउन निर्देशन दिइसकेको छु । ”