काठमाडौँ, ८ भदौ- नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूले आफ्नो बैठक भत्ता आफैंले ३६० प्रतिशत बढाएर लिन थालेका छन् । ऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा बसेको समिति बैठकले सञ्चालकहरूको भत्ता २५ सयबाट बढाई ९ हजार रुपैयाँ पुर्याएका हुन् ।

अध्यक्ष तथा सञ्चालकहरूले गत फागुन ११ को बैठकबाट भत्ता बढाई लिन थालेको स्रोतले जनायो । फागुन ११ पछिका हरेक बैठकमा सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा सदस्यसचिव र आमन्त्रित सदस्यले ९ हजारका दरले बैठक भत्ता लिन थालेका छन् । प्राधिकरणको सञ्चालक समितिमा अध्यक्षसहित ७ सदस्य छन् । समितिको बैठकमा ऊर्जा मन्त्रालयका कानुन हेर्ने सहसचिव र आधिकारिक युनियनका प्रतिनिधिलाई समेत आमन्त्रित सदस्यका रूपमा बोलाई भत्ता दिने गरिएको स्रोतले बतायो ।
घाटामा रहेको प्राधिकरण आफ्ना सञ्चालक समितिका पदाधिकारीलाई सबैभन्दा बढी भत्ता दिने सरकारी निकाय भएको छ ।