
मकवानपुरको मनहरी गाउँपालिका –४ स्थित मसिनेमा जङ्गली हात्तीको आक्रमणबाट सोमबार एक वृद्ध महिलाको मृत्यु भएको छ । स्थानीय ६४ वर्षीया राधा अधिकारीको हात्तीको आक्रमणपछि उपचारको क्रममा भरतपुरस्थित मेडिकल कलेजमा मृत्युभएको हो ।
बिहान करेसाबारीमा काम गरिरहेको समयमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएपछि उपचारका लागि उनलाई हेटौँडा उपमहानगरपालिका –११ स्थित चुरेहिल अस्पताल लगिएको थियो ।
उनको स्वास्थ्य जटिल भएपछि चितवनस्थित मेडिकल कलेजमा उपचारका लागि लगियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले आक्रोशित स्थानीयले मनहरी गाउँपालिका –३ स्थित लामिटारमा रहेका पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयमा तोडफोड र गोलघरमा आगजनी गरेको जनाए ।
स्थानीयले निकुञ्जको दुई वटा मोटरसाइकल र जिपसमेत तोडफोड गरी क्षति गरेका छन् । अघिल्लो वर्षसमेत हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्युभएको थियो ।