
नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन माग गरेका छन् । सोमवार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा सिस्टमबाट चलाइरहेकाले सरकारसँग सुन आयातको कोटा सिस्टम हटाउन माग गरे । उनले सुन आयातको कोटा सिस्टमका कारण बजारमा सुनको माग बढी भएपनि मागअनुसार बिक्री वितरण गर्न नपाएको बताए ।
राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेशा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फबाट स्पष्ट मापदण्ड बनाइ लागू गर्न र सुनचाँदी व्यवसायको विकास र प्रवर्धन हुनेगरी ऐन नियम कार्यविधि निर्माण गर्न सरकारसँग उनले आग्रह गरे ।
महासंघले बजारमा सिजनको समयमा ४० किलोको हाराहारीमा माग आए पनि १० किलो मात्रै सुन आयात भइरहेको जनाएको छ । विधिवत रुपले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिनाभन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार सुन बजारलाई केही धानेको बताए ।
प्रहरीले त्यसरी सुन ल्याउने व्यवसायीलाई पक्राउ गर्ने र अनावश्यक दुःख दिनेगरेको आरोप महासंघको छ । महासंघले विगत १३ वर्षदेखि लागू हुँदैआएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यबस्थाको समीक्षा हुन जरुरी रहेको बताएको छ ।
नेपाली मौलिक गरगहनाहरु विश्वव्यापीरुपमा माग भइरहेको सम्बन्धमा गरगहना निर्यातका लागि स्थानीय बजारको व्यवस्थापनका लागि र घरघरमा रहने आम उपभोक्ताहरुको सम्पतीका रुपमा सुनचाँदी गरगहनाको यो पेशा व्यवसायलाई व्यवस्थित बनाउन नीति, नियम र ऐन कानून निर्माण गर्न आवश्यक रहेको महासंघले जनाएको छ ।