
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् ।
विराटनगरमा आज नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
कर्मचारी सरुवाको बेथिति न्यूनीकरणका लागि केही नीतिगत व्यवस्था गर्ने बताए। मोदीले भने, 'सरुवामा नेताले भनिदिनुपर्ने वा नेतालाई भन्न लगाएर सुगम ठाउँमा बस्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्यका लागि केही नीतिगत व्यवस्था गर्छौ, सरुवामा अब भनसुन चल्दैन ।'
भरखरै बढुवा भएका उपसचिवलाई कसैको कुरा नसुनीकन स्थानीय तहमा पठाएर भनसुन प्रवृत्ति अन्त्यको थालनी गरेको समेत मन्त्री मोदीले उल्लेख गरे ।
भनसुन अन्त्यका लागि शुरूआत आफ्नैबाट गर्नुपर्ने मोदीले बाए। उनले पार्टीनिकट कर्मचारीहरूलाई भने, 'हाम्रै पार्टीको प्रधानमन्त्री छ, हाम्रै पार्टीको मन्त्री छ, अब जे भन्यो त्यही हुन्छ भन्ने तपाईंहरूले सोच्नुभएको छ भने त्यो भ्रम त्याग्दा हुन्छ ।'
माओवादी नेतृत्वको सरकार भएको बेला माओवादी निकटका कर्मचारीहरूले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने मानसिकता त्याग्नसमेत मन्त्री मोदीले आग्रह गरे । उनले भने, 'मेरो आग्रह छ, माओवादीको सरकार छ, हामीले भनेकै ठाउँमा सरुवा हुनुपर्छ भन्ने तपाईंहरूको मानसिकता छ भने त्यो मानसिकताबाट मुक्त हुनुहोला ।'
ट्रेड युनियनमार्फत् राजनीतिमा सक्रिय कर्मचारीहरूले पनि पहिला जनताको सेवालाई प्राथमिकता राख्न निर्देशन दिए । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए निर्मम भएर कानूनी रुपमा कारबाहीको दायरामा ल्याउने मन्त्री मोदीले चेतावनी दिए ।
प्रधानमन्त्रीको मुख्य प्राथमिकता मुलुकमा सुशासन कायम गर्ने भएकाले सरकारको प्राथमिकताअनुसार सेवा प्रवाह गरी सुशासन कायम गर्न जोड दिनसमेत मन्त्री मोदीले निर्देशन दिए ।