
लुम्बिनीको मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ ।
गजुर जीर्ण भएपछि लुम्बिनी विकास कोषले दाताहरूको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखेको हो । गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेका लुम्बिनी विकास कोषले जनाएको छ ।
मंगलबार दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिइएको छ । यसअघि राखिएको गजुर पुरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिब ३ महिना लगाएर तयार पारिएको शाक्यले बताए । गजुरको बाहिरपट्टिको भागमा सुनको जलप लगाइएको छ ।
यसअघिको मन्दिरको गजुर पुरानो र जीर्ण भइसकेको थियो ।
बाँदरले हल्लाउदा ढल्कने, पार्टपूर्जाहरू खिइएकाले गजुर मर्मत गर्नुपर्ने बेला सहयोग गर्ने दाताप्रति कोषका सदस्य सचिव शाक्यले धन्यवाद दिए । गजुरसँगै बुद्ध जन्मस्मारक (मार्कन स्टोन)को कभर स्थापनाका लागि समेत टोलीले सहयोग गरेको कोषले जनाएको छ ।
मालिनोङ र लर्टट्रथले भारतको कुशीनगरस्थित विहारमा पनि गजुर स्थापना र बोधगयामा बोधीवृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यले बताए ।
उनका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन् ।
आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिब ६० लाख लगानी लागेको शाक्यले बताए । नयाँ गजुर राखिएपछि मायादेवी मन्दिर आकर्षक देखिएको छ ।
यसैबीच आगामी फागुन २३ गतेदेखि ऐतिहासिक बुद्धस्थल सगरगहवामा गरिने कपिलवस्तु राष्ट्रिय मूर्तिकार्यशालालाई प्रभावकारी बनाउन तयारी थालिएको छ ।