
नयाँ दिल्ली, ८ भदौ– भारतको राजकीय भ्रमणमा रहेका प्रधानन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हुने भनिएको ‘वान टू वान’ (एक्ला एक्लै भेटवार्ता) ‘रेस्टिक्टेड मिटिङ’ (निश्चित व्यक्तीको बैठक)मा सीमित बनेको छ ।
हैदरावाद हाउसमा बिहीवार बिहान ११ः ३० देखि १२ बजेसम्म प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता भएको थियो । देउवा र मोदीबीचको बैठकमा दुवै देशका परराष्ट्रमन्त्री, विदेश सचिव र राजदूत सहभागि भएका थिए । दुई प्रधामनन्त्रीबीचको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा समेत छलफल भएको थियो ।
देउवा–मोदी भेटमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सहभागी थिए । यस्तै भारतका तर्फवाट विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव एस जयशंकर तथा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पूरी सहभागि भएका थिए ।
यसअघि देउवा र मोदीबीच ‘वान टू वान’ छलफल हुने बताइएको थियो । पूर्व निर्धारित कार्यक्रम बिनै बुधवार भएको ‘आकस्मिक’ भेट नै एक्ला एक्लै भेटवार्तामा परिणत भएको विश्लेषण गरिएको छ ।
संयुक्त पत्रकार सम्मेलन पछि आयोजित दिवा भोजमा पनि देउवा र मोदीबीच अनौपचारिक छलफल भएको प्रधामनन्त्रीको भ्रमण दलमा रहेका एक सदस्यले लोकान्तरलाई बताए ।
देउवा र मोदीबीच राष्ट्रपति भवनमा आयोजित ‘गार्ड अफ अनर’ समारोहमा दोस्रो भेट भएको थियो ।