१५ असार २०८३, सोमबार

बागलुङका पाँच साहित्यकार पुरस्कृत

फागुन १२, २०७९
बागलुङका पाँच साहित्यकार पुरस्कृत

‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङबाट पाँच साहित्यकार पुरस्कृत भएका छन् । गुठीले यस वर्षको  ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ पाल्पाका साहित्यकार डा शङ्करप्रसाद गैरेलाई प्रदान गरेको छ । रु ५० हजार राशिको सो पुरस्कार उनको उपन्यास कृति  ‘कृष्ण’ का लागि प्रदान गरिएको गुठीले जनाएको छ ।

यस्तै यस वर्षको ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ बागलुङका लेखकद्वय सरोजराज पन्त र सूर्यनाथ सापकोटालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु १२ हजार पाँच सय रहेको छ । गुठीमा स्थापित ‘धवलागिरि प्रतिभा पुरस्कार’बाट म्याग्दीका साहित्यकार कृष्ण बानियाँ पुरस्कृत भएका छन् ।  

रु १५ हजार राशिको सो पुरस्कार बानियाँको संस्मरण कृति  ‘बिसङ्गत अभिरुचि’ का लागि प्रदान गरिएको गुठीका सदस्यसचिव महेशचन्द्र प्रधानले जानकारी दिए । यस्तै रु २५ हजार राशिको ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ ललितपुरका साहित्यकार रुकु कार्कीलाई प्रदान गरिएको छ ।

बिहीबार बागलुङ सदरमुकाममा आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुरस्कृत लेखकहरूलाई नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरे । सोही समारोहमा काठेखोला–५ बिहँस्थित परमानन्द सन्यास आश्रमका शुभम् पन्तलाई ‘गुरु गणेश स्मृति पुरस्कार’ प्रदान गरिएको थियो । बागलुङका गणेशप्रसाद र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा गुठीमा स्थापित उक्त पुरस्कारको राशि रु आठ हजार रहेको छ ।

गुठीले हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ । साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले आफ्नी आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ मा पुरस्कार स्थापना गरेका थिए । 

‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’लाई देशकै जेठोमध्येको एक पुरस्कार संस्था मानिन्छ । भाषा, साहित्य र संस्कृतिको उत्थानमा समर्पित स्रष्टाको सम्मानका लागि पुरस्कार गुठी स्थापना गरिएको संस्थापक संरक्षकले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्