काठमाडौं, ९ भदौ- सरकारले रेलमार्ग निर्माणको कामलाई खण्डगत रूपमा तीव्रता दिएको छ। पूर्वपश्चिम रेलमार्गअन्तर्गत बर्दिवास-सिमरा खण्डको एक भाग यसै वर्ष पूरा गर्ने गरी कामले तीव्रता पाएको हो। यस खण्डको रेलमार्ग सम्पन्न भएपछि नेपालभित्र एक सय आठ किमि रेलमार्ग तयार हुनेछ। पछिल्लो समय सरकारले रेलमार्ग निर्माणमा गति दिए पनि आफ्नै रेल ल्याउने नल्याउने अझै अनिश्चित छ। यस बारेमा कुनै टुंगो नभएको रेल विभागका महानिर्देशक विष्णुओम बादेले जानकारी दिए, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

नेपाली भूमिसम्म भारतर्फबाट पनि रेलमार्ग जोड्ने काम भइरहेको छ। फागुनसम्म भारतीय सीमाबाट जनकपुर-जयनगर खण्डको रेलमार्ग नेपाली भूमिमा जोडिनेछ। फागुनसम्म बर्दिवासदेखि जनकपुर-जयनगसम्म रेलमार्गको काम सक्ने गरी भारतीय पक्षले काम गरिहेको रेल विभागको भनाइ छ।
विभागका अनुसार पुरानो रेलमार्गलाई नयाँ बनाउने भनिए पनि यसमा गुड्ने रेलको कुनै टुंगो छैन। विभागका महानिर्देशक वादेका अनुसार पूर्वपश्चिम खण्डको सानो भागमा रेलमार्ग बन्ने निश्चित भइसकेको छ। ‘नेपालको देखाउनलायक रेलमार्ग तयार हुँदै छ। केही समयभित्रै १०८ किमी रेलमार्गको पूर्वाधार तय हुनेछ। तर, कहिलेबाट रेल गुडाउने त्यस सम्बन्धमा अझै निश्चिन्त हुन नसकिएको उनको बुझाइ छ।