काठमाडौं, ९ भदौ– साफ यू–१५ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका दुईवटा खेलहरु हुँदैछन् ।
दुवै खेल दिउँसो ३ बजे हुनेछन् । आज हुने दुईखेलमध्ये एउटामा घरेलु टोली नेपालले बंगलादेश र भुटानले भारतको सामना गर्नुपर्ने छ ।
नेपाल र बंगलादेशबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ भने भारत र भुटानबीचको खेल हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा हुनेछ ।
जारी प्रतियोगितामा बंगलादेश र भारतले अहिलेसम्मका सबै खेलमा जीत हासिल गरेका छन् । भारतले माल्दिभ्स र नेपाललाई हराइसकेको छ भने बंगलादेशले श्रीलंका र भुटानलाई हराइसकेको छ ।
बंगलादेश समूह ए को विजेता तथा नेपाल समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । भारत समूह बी को विजेता तथा भुटान समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।