सोल, ९ भदौ– दक्षिण कोरियाली अदालतले बहुराष्ट्रिय कम्पनी सामसुङका कार्यबाहक प्रमुख ली जेइ–यङलाई ५ वर्षको जेल सजाय सुनाएको छ ।
अवैधानिक कामका लागि घुस खुवाएको ठहर गर्दै दक्षिण कोरियाको सोल जिल्ला अदालतले जेइ–यङलाई शुक्रबार ५ वर्षको जेल सजाय सुनाएको हो ।
अभियुक्त ठहर भएको जेइ–यङ सामसुङ कम्पनीका अध्यक्ष ली कुन हीका एकमात्र छोरा हुन् ।
पूर्वराष्ट्रपति पार्क गुन हेकी एकजना नजिककी महिला साथीलाई घुस दिएको अभियोगमा सामसुङका कार्यबाहक प्रमुख ली जेइ–यङविरुद्ध मुद्दा चलाइएको थियो । उनीमाथि अवैधानिक तरिकाबाट सरकारी लाभ लिनका लागि घुस खुवाएको आरोप लागेको थियो ।
दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार लीले ५० लाख अमेरिकी डलर अनियमितता गरेको अदालतले ठहर गरेको छ ।
लीविरुद्ध मुद्दा दर्ता गर्दै सरकारी अभियोजनकर्ताहरुले लीलाई १२ वर्ष जेल सजाय हुनुपर्ने माग गरेका थिए ।
अदालतलाई दिएको वयानमा लीले पूर्वराष्ट्रपति पार्क गुन हेकी एकजना नजिककी महिला साथीलाई पैसा दिएको स्वीकार गरिसकेका छन् । तर आफूले अवैधानिक रुपमा सरकारी लाभ लिन लागेको कुरा गलत भएको उनले बताएका थिए ।
अदालतले सामसुङका अरु दुईजना कार्यकारीलाई चार वर्षको जेल सजाय सुनाएको छ ।
सोही घुषकाण्डका कारण तत्कालिन राष्ट्रपति हेमाथि महाअभियोग लागेको थियो ।