
काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
सोमवार दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले आफ्ना पसलका सटरहरू बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन् ।
लामो समयदेखि एकतर्फी पार्किङ गर्ने व्यवस्थालाई उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले पहिले सञ्चालन भइरहेको पार्किङ हटाएपछि विरोध गरेका हुन् ।
दबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले महानगर जबरजस्ती पार्किङ हटाएसँगै दरबारमार्गको व्यापारी ६० प्रतिशतले गिरावट आएकाले बिरोध गर्न बाध्य भएको बताए।
उनले दरबारमार्गका व्यवसायीहरूले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैयाँ बुझाउने र हजारौंलाई रोजगारी दिए पनि महानगरले पार्किङ हटाएकाले व्यवसाय धराशयी बनेको बताए। उनले दबारमार्गको एकतर्फी पार्किङ कायम हुनुपर्ने माग गरे।
महानगरले पार्किङको विकल्प नदिएसम्म निरन्तर आन्दोलन गर्ने उनले चेतावनी पनि दिए।
व्यवसायी किरण गुरुङले दरबारमार्ग नेपालको मिटिङ प्वाइन्ट र राजधानीको अनुहार भएको भन्दै महानगरले विकास बोर्डलाई कुनै खबर नगरी अचानक बन्द गरेको आरोप लगाए।
महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ ।
पार्किङ नभएपछि व्यवसायीहरूले महानगरसँग वार्ता गर्ने भने पनि महानगरले बेवास्ता गरेको उनीहरूको आरोप छ ।