
सरकारले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ ।
सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमा पत्रकारहरूसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको बताए।
उनले आगामी शनिवारदेखि पशुपति सरसफाईको अभियान शुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीहरूसहित आफ्नो अध्यक्षतामा सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।
त्यस्तै पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरीएको पनि उनले बताए।
मन्त्री किराँतीले आफू मन्त्रीको रुपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकीय कुराहरूमा सुधार ल्याएको बताए।
त्यस्तै नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरू घटिरहेका भन्दै महिलाविरुद्ध हुने दुर्व्यवहारका उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको पनि जानकारी दिए।