१५ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

बलात्कारमा मुछिएका पल शाह रिहा हुँदा सन्दीप लामिछानेले पाए विदेश जाने सुविधा

एमाले सरकारबाट बाहिरिँदा रास्वपाको समर्थन कायमै
फागुन १६, २०७९
बलात्कारमा मुछिएका पल शाह रिहा हुँदा सन्दीप लामिछानेले पाए विदेश जाने सुविधा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
बलात्कारमा मुछिएका दुई व्यक्तिको विषयमा अदालतको आदेश तथा फैसला गरेको छ । नाबालिग बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले विदेश जाने अनुमति दिएको छ। 
सोमवार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सन्दीपलाई विदेशमा खेल्न जान अनुमति दिएको हो। 

आईसीसी विश्वकप लिग–२ को यूएईमा भइरहेको क्रिकेट प्रतियोगितमा खेल्न नेपाल क्रिकेट टोलीको सदस्यको रूपमा जान अनुमति पाऊँ भन्दै लामिछानेले दिएको निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो। 

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो ।
सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

उनीमाथि बलात्कार अभियोग लागेको छ। उक्त मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। लामिछाने नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा हाल सदस्य हुन्। अदालतले लामिछानेको मुद्दा छिटो टुंग्याउन समेत आदेश दिएको छ । 
००००
यसैगरी उच्च अदालत पोखराको फैसला अनुसार अभिनेता पल शाह सोमबार नै रिहा भएका छन् । शाहलाई अदालतले आइतबार सफाइ दिएकामा उनी सोमबार बिहान तनहुँ कारागारबाट रिहा भएका हुन् । नाबालिग बलात्कारमा मुछिएका उनी रिहा हुँदा फूलमालामा विजयी भावका साथ बाहिरिएका थिए । उनको पक्षमा समर्थकले हुटिङसमेत गरेका थिए । 
००००
सोमबार मात्रै समर्थनसहित सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा एमालेका ८ जना मन्त्रीहरूले राजीनामा दिएका छन्। 

उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिएका हुन्। 
एमाले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सरकारमा गएको थियो। उनीसहित परराष्ट्रमन्त्री विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वालावकुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सहरी विकास मन्त्री दामोदर भण्डारी र स्वास्थ्यमन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेतीले राजीनामा दिएका हुन्।
००००
नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुई दल मात्र बाँकी रहेका छन् ।
माघ ३ गते बनेको २५ सदस्यीय मन्त्रिपरिषद् अब ७ जनामा सीमित भएको हो ।
००००
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । 
सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उपयुक्त समय नआउन्जेलसम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको हो।
००००
नागरिकता र सिटरोलमा समस्या देखिएको भन्दै नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा उजुरी परेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख समेत रहेका डीआईजी ज्ञवालीले पहिला जिल्ला प्रशासन कार्यालय प्यूठानबाट नागरिकता लिएको र पछि जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि दिएको भन्ने उजुरीमा भनिएको छ ।
००००
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।
एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि मंगलबार सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताए । मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो ।
००००
चार कम्युनिष्ट पार्टीको बैठकले क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा निर्मित र क्रियाशील संयुक्त मोर्चालाई गुणात्मकता प्रदान गर्न चार दलीय कार्यदल गठन गरेको छ । 
कार्यदलमा नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट नेता कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका नेता जागृत रायमाझी र नेकपा माओवादी समाजवादीका नेता आरवी भण्डारी रहेका छन् ।
००००
सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्नेभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।
००००
काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर विसर्जन स्थल बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पु¥याउनेलाई रु ५० हजार जरिवाना गरेको छ ।
कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पु¥याएको भन्दै रु ५० हजार जरिवाना गरिएको कामपा वातावरण विभागका प्रमुख रबीनमान श्रेष्ठले जानकारी दिए ।
००००
काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
सोमवार दरबारमार्ग क्षेत्रका व्यवसायीहरूले आफ्ना पसलका सटरहरू बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन् ।
००००
आईसीसी क्रिकेट वल्र्ड कप लिग २ मा पपुवा न्युगिनीविरुद्ध नेपालले ४ विकेटको जित निकालेको छ। 
जितका लागि २०४ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि ओपनर ब्याटर कुशल मल्लाले सर्वाधिक अर्धकतकीय पारी खेले। त्यस्तै आशिफ शेखले ४४ रन बनाए।
००००
अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनका दिन ५६.८८ अंकले बढेको नेप्से परिसूचक उनको बर्हिगमनको दिन ३.६५ अंकले घटेको छ ।
अर्थमन्त्री पौडेललाई पत्याएको शेयर बजार उनको आगमन भएको दिन ११ पुसमा नेप्से सूचक १९२४.०९ विन्दुमा पुगेको थियो । पौडेलको बर्हिगमन भएको दिन सोमवार भने २०२३.५४ विन्दुमा रोकिएको छ ।
००००
चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।
जिल्ला अदालत काठमाडौंले उनीहरुबीचको तीन वर्ष पुरानो सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको हो ।
००००
यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको १८ दिनमै सरुवा भएको छ । २०७९ माघ २५ गते सरुवा भएर गएका गौतमको सरुवा फागुन १४ गते भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मन्त्री बनेपछि २६ दिनमै यातायात व्यवस्था विभागमा ३ जना महानिर्देशकको सरुवा भइसकेको छ । पुस ११ गते यातायात मन्त्री नियुक्त भएका श्रेष्ठले माघ २४ गते विभागका महानिर्देशक टोकराज पाण्डेयको सरुवा गरेका थिए । २०७९ भदौ २० गते महानिर्देशकको रूपमा सरुवा भएर विभाग पुगेका पाण्डेयको ५ महिना कार्यकाल मात्र पुगेको बेला मन्त्री श्रेष्ठले सरुवा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्