
आउँदो शुक्रवार वर्षकै प्रतीक्षितमध्येका दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन् ।
दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’ र अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ एकैदिनबाट प्रदर्शनमा आउन लागेका हुन् ।
प्रदर्शन हुन केही दिन मात्रै बाँकी रहँदादुई वटै फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।
मल्टिप्लेक्स हलहरुले सोमबार साँझ फिल्मको शो तालिका सार्वजनिक गरेका छन् । देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दुईवटै फिल्मलाई राम्रो शो दिएका छन् ।
मंगलवार दिउँसोको तालिकाअनुसार प्रदर्शनको पहिलो दिन शुक्रवारका लागि क्यूएफएक्सले ‘छक्का पञ्जा–४’लाई ५५ शो दिएको छ ।
त्यस्तै ‘छड्के–२’ले क्यूएफएक्समा ३७ शो पाएको छ । अन्य मल्टिप्लेक्सहरुले पनि फिल्मलाई राम्रो शो दिएका छन् ।
दुवै राम्रो सम्भावना बोकेका फिल्म भएका कारण केही दिन अगाडि नै शो तालिका सार्वजनिक गरिएको हो ।
‘छक्का पञ्जा’ आफैंमा ब्राण्ड नाम हो भने ‘छड्के–२’ युवा पुस्तामाझ लोभलाग्दो स्टारडम बनाएका अभिनेता अनमोल केसी अभिनित फिल्म हो । दुवै फिल्मको प्रचार सामग्रीले यतिबेला दर्शक माझ राम्रो हाइप बनाइसकेका छन् । दुवै फिल्मले हलमा दर्शकको बाक्लो भीड लगाउने र आक्रामक ओपनिङ गर्ने अपेक्षा हल सञ्चालकको छ ।
हेमराज बिसीको निर्देशन रहेको ‘छक्का पञ्जा–४’मा दीपकराज, दीपाश्रीसँगै केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, राज आचार्य, बुद्धि तामाङ, बेदना राई, सुष्मा निरौला, नीर शाह लगायतका कलाकारहरूको अभिनय छ ।
निगम श्रेष्ठ निर्देशित ‘छड्के–२’मा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर लगायतको अभिनय छ ।