लोकगायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो सिर्जनालाई पनि स्रोता दर्शकहरुले रुचाएका छन् ।
उनले एक साताअघि सार्वजनिक गरेको ‘जुन माया’ बोलको गीतले मंगलवार बेलुकासम्म युट्युबमा ११ लाख प्लस भ्युज पाइसकेको छ ।
कौडा भाकाको यो युगल गीतमा प्रकाश र गायिका मेलिना राईको स्वर छ ।
उनकै शब्द एवं संगीत रहेको गीतमा संगीत संयोजनको काम श्यामश्वेत रसाईलीले गरेका हुन् ।
गीतलाई प्रकाशले आफ्नो सुपरहिट गीत ‘घर कता हो बैनीको’को सिक्वेलका रुपमा स्रोता एवं दर्शकसामु ल्याएका हुन् ।
भिडियोमा ‘घर कता हो बैनीको’ गीतकै कलाकारहरू प्रस्तुत छन् । प्रकाश दूतराजसँगै विजय पुन, जुना सुन्दास र आयुष्मा कार्कीको अभिनय भिडियोमा हेर्न सकिन्छ ।
मौसम हिमालीको निर्देशन, अनिल के. मानन्धरको छायाँकन रहेको ‘जुन माया’को भिडियो नवीन घर्ती मगरको सम्पादनपश्चात प्रकाशको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो ।
गीतले छोटो समयमै राम्रो भ्युज पाएसँगै प्रकाशले खुशी व्यक्त गर्दै स्रोता दर्शकलाई धन्यवाद दिएका छन् । गीतका टुक्काहरू यतिबेला टिकटकमा समेत चर्चामा छन् ।