
मौसममा परिवर्तन आएसँगै सर्लाहीमा सर्पहरू सल्बलाउन थालेका छन् । गर्मीमा सल्बलाउने सर्पले ग्रामीण बासिन्दालाई डस्न थालेको छ ।
बिहीबार सर्पको डसाइपछि उपचारको खोजीमा केन्द्रमा आएका ईश्वरपुर नगरपालिका–९ का सजन शर्मालाई शुक्रबार उपचारपछि घर फर्काइएको लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ । फागुन–१५ गते हरिवन नगरपालिका–१ का बसु गतौलालाई सर्पदंशको सफल उपचारपछि घर फर्काइएको थियो ।
“मौसममा विस्तारै आएको परिवर्तनसँगै सर्पको डसाइबाट घाइते भएका बिरामी बढ्न थालेका छन्”, स्वास्थ्य सहायक अनिल कुशवाहले थपे, “सर्पको डसाइबाट घाइते भएका बिरामी समयमै उपचारका लागि केन्द्रसम्म आए शतप्रतिशत सकुशल घर फर्किने गरेका छन् ।”
पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा पर्ने लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा आव २०७७÷०७८ मा छ सय ३९ र त्यसपछिको २०७८/०७९ मा सात सय नौ सय बिरामी उपचारको खोजीमा आएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
आव २०७९/८० को वैशाख–असारमा दुई सय ७३, साउन–असोजमा ८८ र कात्तिक–पुस महिनामा ५३ सर्पको डसाइबाट पीडित बनेका बिरामीलाई उपचार सेवा दिइएको केन्द्रका अहेव प्रभु पण्डितले जानकारी दिए ।
तथ्याङ्कअनुसार जाडो मौसममा भन्दा गर्मीयाममा सर्पदंशका घटना बढी हुने गरेको छ । मौसम तातिएसँगै सल्बलाउने सबै सर्प विषालु नहुने कुरा केन्द्रका स्वास्थ्य सहायक जगरनाथ यादवको भनाइ छ । चुरे पर्वती फेदी तथा भावर क्षेत्र र तराईका फाँटमा पाइने गनग्वारी गोमन, राजगोमन, कमन करेत, पनिया, राज, ह्यौ, बाँघे, तिरिसेजस्ता सर्प विषालु हुन्छन् । सिरिसे, सुगीया, इन्द्रेनी र उड्ने सर्प कम विषालु हुन्छन् भने डोरिया, हरहरा, तेलियाँ, धामनलगायत तराईमा पाइने १४ जातका सर्प विषालु नहुने बताइएको छ ।
गर्मी मौसममा सर्पको डसाइको जोखिम धेरै हुने भएकाले अँध्यारोमा टर्चलाइट, घाँस दाउरा गर्दा विशेष सावधानी अपनाउनुपर्ने उपचार केन्द्रका स्वास्थ्य सहायक कुशवाहको भनाइ छ ।रासस