०५ असार २०८३, शुक्रबार

होलीमा घर फर्किने यात्रुसँग बढी भाडा लिँदै ५ जना बल्खुबाट पक्राउ

फागुन २०, २०७९
होलीमा घर फर्किने यात्रुसँग बढी भाडा लिँदै ५ जना बल्खुबाट पक्राउ

निर्धारितभन्दा बढी भाडा यात्रुबाट असुल्ने ५ जनालाई शनिबार बिहान काठमाडौँको बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुविधा काउण्टरका कामदार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरका कामदार काठमाडौँको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका-८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्ण बहादुर योञ्जन रहेका छन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दाबढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

चाडपर्व (होली) को अवसर पारेर काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारितभन्दा बढी भाडा लिने गरेको जनगुनासो आएपछि यस कार्यालयबाट सादा पोशाकमा समेत जनशक्ति परिचालित हुँदै आएको छ । 

निर्धारण गरिएको भन्दाबढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्