
उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरू आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन्।
उपराष्ट्रपति पुनले क्षेत्रीहरू आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रहसमेत गरे।
शनिबार काठमाडौंको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा उनले आदिवासी जनजातिहरूले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताए।
संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउन आदिवासी जनजातिहरूले एकताबद्ध भएर सरकारलाई खबरदारी गरिरहनुपर्ने पनि उपराष्ट्रपति पुनको भनाइ थियो ।
उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरूको पहिचान स्थापित गराउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्तसमेत गरे।
उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरूको एकता टुट्यो भने उनीहरूले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे।
नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरूको योगदानको स्मरण गर्दै अघि बढनुपर्ने बताए।