निर्धारित भाडा भन्दा यात्रुबाट बढी भाडा असुल्ने पाँच जनालाई शनिबार काठमाडौँको बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुविधा काउण्टरका कामदार काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरका कामदार काठमाडौँ चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी रहेका छन् ।
त्यसैगरी गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन रहेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दाबढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चाडपर्व (होली) को अवसर पारेर काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउन्टरबाट निर्धारित भन्दाबढी भाडा लिनेगरेको जनगुनासो आएपछि कार्यालयबाट सादा पोशाकमा जनशक्ति परिचालित हुँदैआएको प्रहरीले जनाएको छ ।
निर्धारण गरिएको भाडाभन्दा बढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कार्वाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।