११ असार २०८३, बिहीबार

हिमपात भएपछि किसान खुशी

फागुन २१, २०७९
हिमपात भएपछि किसान खुशी
प्रतिकात्मक तस्वीर

हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् ।

ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताए ।

‘यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी पर्‍यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ,’ उनले भने, ‘जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि हामी खुशी भएका छौं ।’ 

उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । ‘स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन,’ उनले भने, ‘आवश्यक मात्रामा न हिमपात भएको छ, न त पानी नै परेको छ ।’ 

जिल्लामा जेठमा फापर, चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । ‘पुसमा हिउँ परेको भए जमिनमुनिसम्म पानीको मात्रा पुग्छ । अहिले समयमा हिउँ खेतीबाली के राम्रो होला खै ? तापक्रम बढेपछि परेको हिउँ पग्लिएर माथि–माथि नै सुक्छ । बारीमा लगाएको बालीको जरासम्म पुग्दैन,’ किसान गुरुङले भने ।

कार्यबाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जिल्लामा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात हुन शुरू भएको जानकारी दिए । यसबाट किसानलाई केही राहत मिलेको बताए ।  

‘माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आंशिक मात्रामा हिमपात भएको छ,’ उनले भने । बेमौसममा हिमपात बढ्ने देखिएको उनले बताए । ‘मंसिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले फागुनको तेस्रो हप्ता मात्रै हिमपात हुन थालेको छ,’ नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले भने, ‘बल्ल मात्र हिमपातको शुरूआत भएको छ ।’

मनाङ ङिस्याङ–९ का वडाध्यक्ष च्योल्पा गुरुङले मौसममा हिमपात नभए पनि ढिला गरी हिमपात भइरहेको बताए । ‘विगतमा यतिबेला हिउँले ढकमक्क ढाकिएको हुन्थ्यो, घरको हिउँ फाल्नमा व्यस्त हुन्थ्यौं, अहिले बल्ला आंशिक रूपमा हिमपात भएको छ, यसपाला सुक्खापन छ । सुक्खापनले हिमालकै हिउँ पग्लिएका छन्,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्