२३ असार २०८३, मंगलबार

यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार लक्की चौधरीलाई प्रदान

फागुन २१, २०७९
यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार लक्की चौधरीलाई प्रदान

यसवर्षको यदु स्मृति पत्रकारिता पुरस्कार गोरखापत्रमा कार्यरत पत्रकार लोकबहादुर (लक्की) चौधरीलाई प्रदान गरिएको छ । 

आइतबार राजधानीमा आयोजित ‘२४ औं यदु स्मृति दिवस तथा २१ औं यदु स्मृति पत्रकारिता पुरस्कार’ वितरण समारोहमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चौधरीलाई २० हजार रुपैयाँ, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका हुन् ।

नेकपा एमालेका तत्कालीन रुकुम जिल्ला सचिव एवं प्रतिनिधिसभा सदस्यका उम्मेद्वार यदुकुमार गौतमको तत्कालीन विद्रोही माओवादीले २०५५ सालमा आजकै दिन हत्या गरेका थिए ।

स्मृति दिवस एवं पुरस्कार समारोहमा एमाले महासचिव पोखरेलले गौतमको चर्चा गर्दै माओवादीको आन्दोलन गलत बाटोमा जाँदैछ भन्ने कुरा राखेकै कारण उनको हत्या गरिएको दाबी गरे ।

‘यदु गौतमले गर्नुभएको कर्म के थियो भने माओवादी जुन बाटो हिँडिरहेका छन् त्यसबाट सफलता हुँदैन भन्ने कुरा नै थियो’, पोखरेलले भने, ‘आखिर माओवादीले आफैले विश्वास गरेको बाटो परित्याग गरेका छन् । आज माओवादीहरू सशस्त्र आन्दोलनको बाटोमा छैनन् । तर, हामी यदु गौतमको जीवन फिर्ता गर्न सक्दैनौं ।’

उनले उग्रवामपन्थी अतिवाद कति हानिकारण हुने बताए। जसको दृष्टान्त उक्त घटनाले बताउने उनले उल्लेख गरे । ‘जसले सही कुरा अगाडि सार्‍यो र आज त्यही सच्याइमा माओवादीलाई हिँडनका लागि बाध्य बनायो । उसैले त्यो सत्य कुरा बोलेबापत मारिनुपर्‍यो ।’

स्मृति दिवस एवं पुरस्कार वितरण समारोहमा कार्यक्रमका विशेष अतिथि नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यमलाल कँडेलले यदु गौतम आज भौतिक रुपमा नरहे पनि उनले देखाएको निष्ठा र समर्पणको भावनालाई उजागर गर्ने दायित्व काँधमा आइपुगेको बताए ।

नेकपा एमाले रुकुमद्धारा स्थापित यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष फागुन २१ गते एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

पत्रकार चौधरीले पुरस्कारले आफूमा जिम्मेवारी बढाएको महशुस गरेको बताए ।

हत्या–हिंसा, विभेद र अराजकताको अन्त्य एवं शान्ति, सामाजिक न्याय र सुशासनको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार चौधरीलाई सम्मान गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्