२४ जेठ २०८३, आइतबार

वर्षा नहुँदा सुक्न थाले अलैँचीका बोट

फागुन २६, २०७९
वर्षा नहुँदा सुक्न थाले अलैँचीका बोट

पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन् । 

सिरीजङ्घा गाउँपालिका –७ खेवाङका गङ्गाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत सिँचाइ गर्न नसकिएको बताए । उनले भने, “पाइप र कुलोबाट गरिएको सिँचाइले अलैँचीलाई पर्याप्त पानी पुगेन । आकाशको पानीले बोट फस्टाउने र उत्पादन वृद्धि हुन्छ ।” 

फक्ताङलुङ गाउँपालिकाको तापेथोक बगरका किसानले पनि अलैँचीको बोट सुक्न थालेका बताएका छन् । खोला तथा खोल्साको पानी अलैँची बगानमा लगाए पनि अलैँचीखेतीलाई पर्याप्त नभएको उनीहरुले  बताए । लामो समय खडेरी परेकाले अलैँचीमा रोग कीराको समेत प्रकोप बढ्ने अलैँची व्यवसायी बालमणि बरालले बताए । रोग कीराले सिँचाइको अभावमा कमजोर बनेका बोटलाई सजिलै आक्रमण गर्ने र यसबाट क्षति पुग्ने उनको भनाइ छ ।

ताप्लेजुङमा करिब तीन हजार सात सय हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुनेगरेको छ । केही दिनअघि फाट्टफुट्ट वर्षा भए पनि अलैँचीका लागि पर्याप्त नभएको किसानले बताए । लामो समयपछि फाट्टफुट्ट वर्षा भएर पुनः चर्को घाम लाग्दा अलैँचीलाई झन् असर हुनेगरेको उनीहरूले बताए । खडेरीले बोट नै सुकेपछि अलैँची उत्पादन घट्ने भएकाले किसान चिन्तामा छन् । भनेजस्तो मूल्य नपाइरहेका बेला उत्पादनसमेत घटेमा समस्या हुने सिरीजङ्घाका किसान लक्ष्मण अधिकारीले बताए । 

हिमाली तथा पहाडी जिल्लाका किसानले अलैँचीलाई मुख्य आयस्रोतका रूपमा लिनेगरेका छन् । केही वर्षअघि अलैँचीको मूल्य बढ्दा धेरैले खेतबारी नै मासेर अलैँचीखेती गर्दैआएका छन् । प्रतिमनको मूल्य रु एक लाख बढी भएको समयमा ग्रामीण क्षेत्रका किसानले खेतबारी मासेरै अलैँचीखेती लगाएका हुन् । हाल अलैँची प्रतिमन ३४ हजारका दरले कारोबार भइरहेको व्यवसायी बालमणि बरालले बताए । यहाँ उत्पादित अलैँची झापाको विर्तामोड हुँदै भारत निर्यात हुनेगरेको छ ।

भारतबाहेकका तेस्रो मुलुकमा सिधैँ निर्यात नहुँदा अलैँचीको मूल्य भारतीय व्यापारीकै हातमा हुने किसान र व्यवसायी बताउँछन् । सरकारले उत्पादन र निर्यातका लागि प्रभावकारी नीति नबनाएकाले पनि आफूहरू मारमा परेको किसानले गुनासो गर्नेगरेका छन् । अर्कातर्पm नेपालमै अलैँची प्रशोधन गरेर बजारीकरण गर्ने बातावरण बन्नुपर्ने आवश्यकता भएको पनि उनीहरूको भनाइ छ । भारतमा मात्रै नभई अन्य मुलुकमा समेत बजार खोजेर सिधैँ निर्यातको बातावरण बनेमा मूल्यमा सुधार आउन सक्ने व्यवसायी बताउँछन् । रासस

salt training

कमेन्ट गर्नुहोस्