अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले बाइडन प्रशासनलाई रुसबाट गरिएको भनिएको युद्धअपराधसम्बन्धी प्रमाण अन्तर्राष्ट्रिय फौजदारी अदालतसँग साझा गर्न रोकेको छ ।
यसरी रुसको अपराधको प्रमाण दिँदा भविष्यमा अमेरिकीहरूलाई पनि सैन्य कारवाहीका लागि अभियोजन गर्न सक्ने जोखिम भएकाले पेन्टागनले रोकेको द न्युयोर्क टाइम्सले खबर दिएको छ ।
अमेरिका तथा उसका साझेदारले गरेको भनिएका युद्धअपराधमा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को प्रयासलाई अमेरिका विगतमा रोक्ने गरेको थियो । तर युक्रेनमा रुसले गरेको युद्धमा अनुसन्धान गर्न अमेरिका आफैंले सहयोग गर्न खोजेको छ ।
अमेरिकी सरकारका महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले गत साता युक्रेनको भ्रमण गरी युद्धअपराधमा अनुसन्धानका लागि युक्रेनीहरूलाई सहयोग गर्ने वचन दिएका थिए ।
न्युयोर्क टाइम्स पत्रिकाका अनुसार, बाइडन प्रशासनको परराष्ट्र मन्त्रालय, न्याय मन्त्रालय र गुप्तचर निकायहरूले आईसीसीलाई सूचना दिन चाहेका छन् । गत डिसेम्बर महिनामा अमेरिकी कंग्रेसले रुसको सैन्य कारवाहीमाथि आईसीसीको अनुसन्धानलाई सहज बनाउने गरी सबै बन्देजहरूमा हलुका छुट दिएको थियो ।
ट्रम्प प्रशासनको समयमा अमेरिकाले आईसीसीमाथि प्रतिबन्ध लगाएको थियो । आईसीसीले अफगानिस्तान युद्धमा अमेरिकी सैनिकको भूमिकाका बारेमा अनुसन्धान गर्न खोज्दा त्यस्तो प्रतिबन्ध लगाइएको थियो ।
बाइडन प्रशासनले प्रतिबन्ध फुकुवा गरेको थियो । तर अफगानिस्तानमा अनुसन्धान गर्न अनि प्यालेस्टाइनीहरूका विरुद्ध इजरायलले गरेको कारवाहीमा अनुसन्धान गर्न चाहिँ उसले पनि रोकेको थियो ।