
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेससहित गठबन्धन भत्किएको दाबी गरेका छन्।
शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनले नेपाललाई रुपान्तरण गरेर लैजाने संकल्प गरेर चुनाव गएपछि सहमतिअनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किएको बताए।
तर आन्तरिक रूपमा सच्याएर अघि बढेको भनाइ थियो।
उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरूबीच आन्तरिक रूपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद बढाउँदै लैजानुको परिणाम बिहीबार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका बताए।
'एमालेसँग कांग्रेस कुनै हालतमा मिल्दैन'
उपसभापति खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ने कुरा सपनामा पनि नसोच्न आग्रह गरे। उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहार्याउने बताए।
उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभई ५ वर्ष नै अघि बढ्ने दाबी गरे।
हिजो राष्ट्रपति निर्वाचनलगत्तै नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग मिलेर नजाने भन्ने कसम नखाएको बताएका थिए।
‘पुस १० गते भत्किएको कुरालाई फेरि कमजोरी र गल्ती स्वीकार्दै एजेण्डामा सहमति भएका दलहरू यी एजेण्डामा टसमस नभई ५ वर्ष अघि बढ्छौँ । कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ला, होला भन्ने कसैले नसोचे हुन्छ । त्यो सपनामा मात्रै सम्भव छ,’ उनले भने।
उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको बिस्तार हुने उनले बताए। उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार बिस्तार हुने बताए।
आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा बन्ने र कांग्रेस पनि सरकारमा सहभागी हुने पनि उनले बताए।