
लन्डनबाट मुम्बई गइरहेको एयर इन्डियाको एक विमानको बाथरूममा चुरोप पिउने एक अमेरिकी नागरिकविरुद्ध मुम्बई प्रहरीले उजुरी दर्ता गरेको छ ।
ती यात्रुले अन्य यात्रीहरूसँग दुर्व्यवहार समेत गरेका छन् ।
३७ वर्षीय रमाकान्त नामक ती यात्रीले शनिवारको उडानमा आपत्तिजनक गतिविधि गरेको भन्दै मुम्बईस्थित साहार प्रहरी चौकीमा उजुरी दर्ता गरिएको हो ।
‘उडानमा धूम्रपानको अनुमति छैन तर ती यात्रु बाथरूममा जाँदा अलार्म बज्न थालेको थियो । सबै विमान कर्मचारी बाथरूमतर्फ दौडिँदा उनले हातमा चुरोट लिएको देखियो । उनको हातबाट हामीले चुरोट खोस्यौं । त्यसपछि रमाकान्तले विमान कर्मचारीलाई गाली गर्न थाले । उनलाई जसोतसो गरी सीटमा राखियो । केही समयपछि उनले विमानको ढोका खोल्न खोजे । उनको व्यवहार देखेर सबै यात्रु डराए । उनी कसैको कुरा नसुनी चिच्याइरहेका थिए । त्यसपछि हामीले उनको हातगोडा बाँधेर सीटमा बस्न लगायौं,’ एक विमान कर्मचारीले प्रहरीलाई बताए ।
बाँधिएका यात्रुले त्यसपछि आफ्नो टाउको ठोक्न थालेका थिए ।
‘यात्रुमध्ये एकजना चिकित्सक थिए । उनले रमाकान्तको स्वास्थ्य हेरे । त्यसपछि रमाकान्तले आफ्नो झोलामा औषधिहरू रहेको बताए । झोलामा हेर्दा औषधि भेटिएन, ईसिगरेट भेटियो,’ प्रहरीले जानकारी दियो ।
विमान अवतरण गरेपछि रमाकान्तलाई साहार प्रहरीमा बुझाइएको थियो ।
उनलाई हिरासतमा राखी भारतीय दण्ड संहिताका अनेकौं दफाअन्तर्गत उजुरी दर्ता गरिएको छ ।