
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन् ।
सोमवार पद्मोदय विद्यालयको हिरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रका सम्पूर्ण समस्या एकमुष्ट सम्बोधन गर्न लागि परेको बताएका हुन् ।
सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले शैक्षिक पाठ्यक्रमको पुनरवलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक तथा विज्ञान प्रविधिमूलक एवं व्यावसायिक बनाउन बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरूपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गरे ।
उनले प्राविधिक शिक्षालाई जोड दिँदै विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षा अनुसन्धानमुखी बनाउन आवश्यक रहेको बताए ।
यसका निम्ति नीतिगत, कानूनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।