रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी अलेक्सी नभाल्नीमाथि बनेको डकुमेनट्रीले अस्कर पुरस्कार जितेको छ ।
अमेरिकी समयअनुसार आइतवार राति भएको समारोहमा नभाल्नी डकुमेन्ट्री विजयी भएको हो ।
पुरस्कार ग्रहण गर्नका लागि डकुमेन्ट्रीका निर्देशक डेनियल रोहर र नभाल्नीकी पत्नी युलिया स्टेजमा पुगेका थिए ।
त्यसक्रममा युलियाले भावुक हुँदै भनिन्, ‘मेरा पति जेलमा छन् किनकि उनले सत्य बोलेका थिए र लोकतन्त्र जोगाउने कोशिश गरेका थिए । उनी र मेरो मुलुक स्वतन्त्र भएको दिनको प्रतीक्षा म गरिरहेकी छु ।’
सीएनएन र एचबीओले मिलेर यो डकुमेन्ट्री बनाएका हुन् । नभाल्नीमाथि साइबेरियामा भएको सांघातिक आक्रमणदेखि रुसमा उनलाई पक्राउ गरिएकोसम्मको कथा यसमा समेटिएको छ ।
सन् २०२० मा नभाल्नीमाथि विषालु नर्भ एजेन्टले आक्रमण गरिएको थियो । रुस सरकारले यो आक्रमण गराएको आरोप नभाल्नीले लगाएका छन् ।