०४ असार २०८३, बिहीबार

देउवाको भारत–भ्रमणः कूटनीति कि तीर्थयात्रा ?

कात्तिक २०, २०७४
देउवाको भारत–भ्रमणः कूटनीति कि तीर्थयात्रा ?
नयाँ दिल्ली, ११ भदौ- पाँच दिने राजकीय भ्रमण पूरागरी प्रधानमन्त्री शेरबहादुर देउवा आइतवार स्वदेश फर्किदै छन् । उनको भारत–भ्रमण सफल कि असफल भन्नेमा यतिबेला काठमाडौं र नयाँ दिल्लीमा बहस शुरु भएको छ ।

भ्रमण दलका कतिपय सदस्यहरुले देउवाको भ्रमणलाई स्वं गिरिजाप्रसाद कोइराला पछिको उपलव्धिपूर्ण दावी गरेका छन् । यता, नेकपा एमाले लगायतका विपक्षी दल र कतिपय स्वतन्त्र विश्लेषकहरुले भने भ्रमणका क्रममा संविधान संशोधनवारे देउवाले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

२०६२/०६३ को जनआन्दोलन सकिए लगत्तै पछि भारत भ्रमणमा गएका कोइरालालाई स्वागत गर्नको लागि उनका समकक्षी डा. मनमोहन सिंह विमानस्थलमा आएका थिए । नेपाली राजनीतिक इतिहासको पछिल्लो कालखण्डमा भारतले धेरै सम्मान गरेका नेतामा पर्दथे कोइराला । मनमोहनले कोइरालालाइ दक्षिण एसियाकै महान नेताको पगरी भिराइदिएका थिए ।

कोइरालाभन्दा देउवालाई कुन अर्थमा भारतले महत्व दियो भन्नेबारे भ्रमणदलका सदस्यहरुसंग जवाफ छैन । भारत भ्रमणमा गएकै दिन उनका समकक्षी नरेन्द्र मोदीले देउवालाई ‘आकस्मिक’ भेट गर्नुलाई ज्यादा महत्व दिएको भनेर परिभाषित गरिएको छ । तर राजकीय भ्रमणमा आएका अतिविशिष्ट पाहुँनाले पूर्वनिर्धारित कार्यतालिका भन्दा तलमाथि पर्नेगरी गरिएको भेटलाई कूटनीतिक दृष्टिकोणले उपयुक्त नमानिने जानकारहरु बताउछन् ।

अमिल्दो अाकस्मिक

पूर्व शिष्टाचार महापाल माधव खनाल औपचारिक भ्रमणको कार्यतालिका बेगरका त्यस्ता भेटघाट सरासर शिष्टाचार सम्बन्धी प्रचलित अन्तराष्ट्रिय मान्यता विपरीत हुने बताउँछन् । ‘भोलिपल्ट औपचारिक भेटवार्ताको कार्यक्रम तय भइसकेको अवस्थामा दिल्ली पुगेकै दिन मोदीसँग भेटगर्नु उपयुक्त होइन ।’


देउवा पहिलो पटक प्रधानमन्त्री भएपछिको पहिलो भारत–भ्रमणमा शिष्टाचार महापालको रुपमा कार्यरत खनालले आइतवार लोकान्तरसँग भने, ‘कदाचित् यो भ्रमण औपचारिक भ्रमणमात्र भएको भएपनि त्यसरी आफूखुसी भेटघाट मिल्दैन । प्रचार गरिएजस्तो राजकीय भ्रमण भएको भए त झन् मिल्दै मिल्दैन ।’

नेपालका प्रधानमन्त्रीलाई भारतीय राष्ट्रपतिको निवासमा राख्ने र सैनिक टुकडीको सम्मान (गार्ड अफ अनर) भारतसँग चिसो सम्वन्ध रहेको भनिएका केपी ओलीलाई पनि दिइएको थियो । प्रचण्डलाई पनि विमानस्थलमा स्वागत गर्न सुषमा स्वराज नै आएकी थिइन् । यसर्थ भारतले देउवालाई अतिरिक्त सम्मान दिएको भनेर प्रचार शैलीमा दावी गर्नुको कुनै आधार छैन ।

‘भ्रमण अत्यन्त सफल भयो, भारतले नेपालका प्रधानमन्त्रीलाई ज्यादा महत्व दियो’ भन्ने कुरा अव परम्परागत थेगो जस्तो भइसकेको छ । जसरी नेपालका प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल–भारत सम्बन्ध ‘हिमालय पर्वत जस्तै पुरानो’ भन्न छुटाउँदैनन् । तीन महिनापछि नेपालमा चुनाव हुन लागेको बेला, कामचलाउ सरकारलाई भारतले कति महत्व दिन्छ भन्ने कुरा पूर्वानुमान गर्न कठिन नहुने विश्लेषकहरु बताउछन् ।

निर्वाचित भएलगत्तै जतिसक्दो छिटो भारत भ्रमणमा जानु नेपालका प्रधामनन्त्रीको नियमित कार्यतालिका जस्तो भएको छ, पछिल्लो कालखण्डमा झलनाथ खनाल मात्र त्यसको अपवाद बने । त्यतिवेला खनाल सरकार गठनमा निर्णायक रहेका प्रचण्डले झलनाथ सरकारलाई पहिलो पटक ‘मेड इन नेपाल’को विल्ला लगाइदिएका थिए । संभवत त्यही कारण झलनाथ प्रधानमन्त्रीको रुपमा भारत जान पाएनन् या जानु परेन । कतिपयका लागि भारत भ्रमणको निम्तो आउनु प्रधानमन्त्री पदमा पुग्दाको सफलताको मापक बन्न पुगेको छ ।

सञ्चारमाध्यममा कम प्राथमिकता

चौथो पटक प्रधानमन्त्री बन्ने सौभाग्य पाएका ७० बर्षीय देउवाले प्रधानमन्त्रीको रुपमा चौथो पटक दिल्लीमा स्वागत पाए । भारत भ्रमणमा जान पाएकोमा देउवा निकै प्रसन्न देखिएका छन् ।

हिन्दी भाषामा प्रकाशित हुने ‘दैनिक जागरण’ पत्रिकाले देउवा दिल्ली पुगेको भोलिपल्ट उनलाई दिल्ली निकट भनेर लेखेको थियो । तर अधिकांश पत्रिकाले छिमेककाे प्रधानमन्त्रीकाे राजकीय भ्रमणालार्इ भित्री पृष्ठमा सानो समाचारको अाैपचारिकता मात्र पूरा गरे । जबकी भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल भ्रमणमा अाउँदा सञ्चारमाध्यममा सर्वाधिक चर्चामा रहेका थिए । 

देउवा दिल्ली आइपुगेकै दिन यहाँबाट प्रकाशित हुने अग्रेजी दैनिक इण्डियन एक्सप्रेसको पहिलो पृष्ठ सिंङ्गै ढाक्नेगरी स्वागत विज्ञापन छापिएको थियो । विज्ञापनदाता थियो जिएमआर नामक भारतीय कम्पनी थियो, जसले नेपालमा ठूलो जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको छ ।

देउवाको भारत भ्रमणको उपलव्धि केलाई मान्ने ? भारतसँग भएका आठवटा सहमतिपत्र नयाँ बिषय होइनन् । भूकम्पपछिको पुनःनिर्माणका लागि यसअघि दिने भनिएको सहयोगको खर्चको विस्तृत विवरणको रुपरेखा मात्र हो ।

राजनीतिक उपलव्धिको कुरा गर्दा नेपाललाई हेर्ने भारतीय नीतिमा तात्विक अन्तर देखिएन । संयुक्त पत्रकार सम्मेलनमा मोदीले संविधान संशोधनको प्रसंग उच्चारण नै नगरी ‘सबैलाई समेट्न’ सुझाउ दिएका थिए । बरु देउवाले नै संविधान संशोधन पारित गराउने छु भनेर नमागिएको प्रतिबद्धताको आश्वासन दिए । त्यसैकारण पत्रकार सम्मेलनमा संविधान संशोधनको विषय किन उठाएको भनेर नेपालमा उल्टै विरोध भएको छ ।

तीर्थयात्रामा प्रधानमन्त्री

पाँचदिने भ्रमणको क्रममा दुइदिन त देउवा तीर्थाटनमा व्यस्त रहे । तिरुपति बालाजीको भ्रमणका लागि देउवा दिल्लीबाट काठमाडौंभन्दा टाढाको दूरीमा रहेको हैदरावाद पुगे । तिरुपति बालाजी मन्दिरमा देउवाले जुता खोलेर पूजा गरे । तिरुपति दर्शन गरेर देउवा नेपालको सीमा जोडिएको बिहारको बोधगयास्थित् महाबोधी मन्दिरमा पुगे ।

संयोग कस्तो भने देउवा महाबोधी मन्दिरमा गएकै समयमा नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा भारतलाई नै बुद्धभूमि भनेर लेखेको देखियो । नेपाली सीमा नजिकैको गयाबाट सिधै नेपाल फर्के हुनेमा देउवा फेरि सवा घण्टाको हवाईयात्रा तय गरेर दिल्ली नै फर्किए ।

उठाउनु पर्ने धेरै बिषय थिए, तर उठाएनन्

दिल्लीमा उठाउनु पर्ने धेरै बिषय थिए, तर उठाएनन् । नउठनु पर्ने बिषय चाहिँ उठेको पाइयो । जस्तो कि, भारतमा रहेका नेपालीले आफूहरु स्वदेश फर्किदा सीमामा लूटपाट र कुटपिटका घटना भइरहेको भनेर दूतावासको कार्यक्रममा सामेल भएका देउवासामु सुनाएका थिए । बैंक खाता नहुँदा आइपरेका समस्या बारेपनि गुनासो सुनाएका थिए । तर ‘मोदीसँगको आकस्मिक भेट’मा जान हतारमा रहेका देउवाले कति सुन्न भ्याए, कसैले ठम्याउन सकेन ।

भारतीय अधिकारीहरुसँगको भेटवार्तामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले प्रवासी नेपालीले व्यहोरीरहेका समस्याबारे भारतीय पक्षसँग छलफल गरेनन् ।

मानौं सीमा क्षेत्रमा नेपालीमाथि हुने दुव्र्यबहार, कुटपीट र लूटपीटका घटना केही होइनन् । सीमाक्षेत्रमा भारततर्फका सीमा सुरक्षा बलले गोली हानेर नेपालीको हत्या गरेको जस्तो मामिला पनि भारतमा उठाउन लायक कुरा ठहरिएनन् । देउवाको भ्रमणपछि नेपाल भारत सीमामा ओहोर दोहोर गर्ने नेपालीहरुले व्यहोरी रहेका समस्या कति समाधान भए भन्ने कुरा केही दिनपछि देख्न पाइएला ।

सबभन्दा बढी त देउवाको सुदूर पश्चिम क्षेत्रबाट भारतमा काम गर्न जाने गरेका नेपाली नै धेरै लुटिनेमा पर्दछन् ।
प्रधानमन्त्रीको भारत भ्रमण कति सफल भयो वा भएन भनेर हेर्न, दशैंको समयमा स्वदेश फर्किने नेपालीहरु सीमा क्षेत्रमा कति लुटिन्छन्/लुटिदैनन् त्यत्ति हेरे पनि पुग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्