
पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री न्यौपानेलेआफ्नो राजनीति सिध्याउन बाह्य र भित्री शक्ति मिलेर पूर्वाग्रही फैसला गरिएको बताए।
भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट ९ वर्ष ६ महिना कैद सजाय सुनाइएका पूर्वमन्त्री न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएका कारण एकै व्यक्तिलाई ३ वटा सजायसँगै बिगो २० करोड जरिवाना ९ वर्ष ६ महिना कैदसहित पूर्वाग्रही ढंगले आएको बताए।
समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भए पनि आफूले फुल बोर्डको बैठक राखेको र मन्त्रिपरिषद्मा समेत प्रस्ताव लगेको दाबी गरे।
पूर्वमन्त्री न्यौपानेले भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको तर आफूलाई ९ वर्ष ६ महिना कैदको फैसला गर्नु पूर्ण रुपमा पूर्वाग्रही भएको जिकिर गरे।
न्यौपानेले आफ्नो देशभर कतै जग्गा नरहेको र बैंक ब्यालेन्स पनि नरहेकाले आफूले अदालतको जरिवाना तिर्न नसक्ने बताए। उनले आफूमाथि लागेका तीन सजाय निराधार र तथ्यहीन भएको बताए।
‘विशेष अदालतले मलाई न्याय दिन्छ भन्ने लागेको थियो । थुनछेक बहसमा साधारण तारिखमा २ लाखसम्मको पैसामा छोड्ने भनेको थियो । आजसम्म विशेष अदालतले एकै व्यक्तिलाई ३ वटा सजाय बिगो २० करोड जरिवाना ९ वर्ष ६ महिना कैदसहित पूर्वाग्रही ढंगले विशेष अदालतले निर्णय गरेको छ । मेरो राजनीति मार्ने किसिमले, ड्यामेज गर्ने किसिमले आएको छ । आजसम्म मेरो देशभरमा कुनै जग्गा छैन, आजसम्म बैंकमा ब्यालेन्स छैन, म मेरो गाउँमा भाइको शरणार्थीका रूपमा बसेको छु । भाडामा बस्छु अझै म, भाडा तिर्न सकेको छैन । म न धरौटी राख्न सक्छु न जरिवाना तिर्न सक्छु ।'
आफू सर्वोच्च अदालत जाने हैसियतमा पनि नरहेको उनको भनाइ थियो।
'मलाई जनताले चन्दा दिए भने मात्रै त्यत्रो जरिवाना तिर्न सक्छु । अदालतलाई सम्मान गर्दै फैसला स्वीकार गर्ने बाहेक अन्य अवस्था नभएकाले स्वीकार गर्नु मेरो कर्तव्य भयो,' उनले भने।
पूर्वमन्त्री न्यौपानेले कार्यसमिति सहितको निर्णयबाट भाडामा लगाउँदा परिषद्लाई नोक्सानी र आफूलाई फाइदा हुन सक्ने अवस्था कतैबाट पनि विशेष अदालतले पुष्टि गर्न नसक्ने बताए।