
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीको नाम र चिह्न देखाएर स्ववियु निर्वाचनमा भोट मागेकोप्रति आपत्ति जनाएका छन्।
स्ववियु निर्वाचन २०७९ को प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै उनले पत्रकार सम्मेलनमा उनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताए।
स्ववियु निर्वाचनलाई पार्टीको निर्वाचन नबनाउन पनि उनले आग्रह गरे।
उनले नेकपा एमालेको विद्यार्थी संगठनमा विद्यार्थीको एजेण्डा नै सकिएको आरोप लगाए।
उनले भने, ‘आज स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर कुनै पार्टीको अमूक नाम लेखेर स्ववियु निर्वाचनमा साथीहरू लडिरहनुभएको छ । यो समुदायको अधिकार संरक्षण गर्ने हुनुपर्दथ्यो । कुनै पार्टीको निर्वाचन चिह्न लिएर साथीहरू आउनुभएको छ । यो विश्वविद्यालयलाई पार्टीको राजनीतिबाट मुक्त गरौँ । विद्यार्थीको निर्वाचनलाई पार्टीसँग किन जोड्नुभएको छ । स्ववियु निर्वाचनलाई पार्टीकरण नगर्न आग्रह गर्छु । पार्टीको निर्वाचन नबनाऔँ, विद्यार्थीको नेतृत्व हाँक्न सक्ने स्ववियु निर्वाचन बनाऔँ । साथीहरु नेकपा एमालेका ट्याग लिएर आउनुभएको छ । विद्यार्थीको मुद्दा सकियो, त्यसपछि पार्टीको नाममा भोट माग्ने प्रयास भइरहेको छ ।’
पराजुली नेतृत्वको अनेरास्ववियुले स्ववियु निर्वाचन २०७९ को प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।