०४ असार २०८३, बिहीबार

गाउँपालिकाद्वारा कृषकलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

गाउँपालिकाद्वारा कृषकलाई अनुदानमा हाते ट्रयाक्टर वितरण
प्रतिकात्मक तस्वीर

गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्रयाक्टर वितरण गरेको छ ।  

गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिए । कृषि पेशामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्रयाक्टर वितरण गरेको उनले बताए ।

‘हामीले सार्वजनिक सूचनामार्फत आवेदनका लागि आह्वान गरेका थियौं,’ उनले भने, ‘आवेदन दिएका १३५ जनामध्ये छनोट गरेर ट्रयाक्टर वितरण गरिएको हो ।’

परम्परागत शैलीमा खेती गर्दै आएका कृषकको कृषि पेशालाई प्रविधिमैत्री बनाउँदै कृषिमै उनीहरूलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पुर्‍याउने उद्देश्यले पालिकाले अनुदानमा ट्रयाक्टर वितरण गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

कृषि कर्मलाई काम छिटो, छरितो बनाउनुका साथै कृषि क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजान सकिने उनको भनाइ छ । ‘पुराना कृषि प्रविधिको माध्यमबाट मात्रै अब कृषि उत्पादनमा वृद्धि गर्न गाह्रो हुन्छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘जोत्नका लागि गोरु पाल्न छोडे, जग्गा बाँझो बस्न थाल्यो, बाँझो जमिनमा खेती गर्न कृषकलाई हौसला प्रदान गर्न ट्रयाक्टर वितरण गरिएको हो ।’
  
पालिकाभित्रका सबै वडाका कृषकलाई समेट्ने गरी ट्रयाक्टर वितरण गरिएको उनको भनाइ छ । ‘हामीले निवेदन परेका कृषक वास्तविक कृषक हुन् कि होइनन् पुष्टि गरेर मात्र अनुदानमा ट्रयाक्टर उपलब्ध गराएका हौं,’ गुरुङले भने ।

salt training

कमेन्ट गर्नुहोस्