
गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडि बढाएका छन्। उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो। सन्तोष सुनारको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री निता ढुङ्गानाको अभिनय रहेको छ।
‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ। निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’,गायक रौनियारले भने,‘डिजिटल समयमा ए मान्छेपछि कम ब्याक भए। समयानुसार नै आफूलाई प्रस्तुत गर्दै छु।’ गायक रौनियार छ भनौँ कि छैन भनौँ, यो वनमा छैन क्यारे न्याउली कराउँदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीतमार्फत स्थापित भएका हुन् ।
अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगै सन्देश दिने जानकारी दिइन्।
निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतीको कथा देखाइएको छ। बच्चालाई जीवनको अमूल्य सपना बनाएका दम्पतीले स्वास्थ्य समस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ।