कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ ।
दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो ।
गत मंगलवार भएको जुम बैठकमा १ जनाको प्रस्तुति भइरहँदा डिन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको थियो । त्यस्ता २ वटा भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरेर छानबिन समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका उपकूलपति पुण्य रेग्मीले दत्तलाई निलम्बन गरेर ३ सदस्यीय छानबिन समिति बनाएको जानकारी दिए । विश्वविद्यालयका प्राध्यापक डा. श्रवणकुमार साहको संयोजकत्वमा प्रा.डा. दुर्गा देवकोटा र प्रा. नारायणराज जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ । १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको उनले बताए ।
विश्वविद्यालयले डिन दत्तलाई निलम्बनको पत्र बुझाएको छ । डिन दत्तलाई तत्काल कारबाही गर्न चौतर्फी दबाब परेपछि निलम्बन गरिएको बताइएको छ ।