
चालु आर्थिक वर्षको ८ महिनामा लाभांशबापत करिब साढे १३ अर्ब रुपैयाँ रकम विदेशिएको छ ।
उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार तीन सय २४ लाभांशबापत रकम फिर्ताको सिफारिस गरेको हो ।
विभागले ८ महिनामा रोयल्टीबापत दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार एक सय सात, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार आठ सय २५ भारतीय रुपैयाँ तथा सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ ।
विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।
फागुनमा मात्रै ३ अर्ब रुपैयाँ सिफारिस
विभागले फागुनमा मात्रै लाभांशबापत करिब ३ अर्ब विदेश लैजान सिफारिस दिएको छ ।
विभागले २ अर्ब आठ करोड १० लाख ८३ हजार रुपैयाँ विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५ सय ३७, २ लाख ५० हजार २४ अमेरिकी डलर, २ लाख १० हजार भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।
शाखाका प्रमुख शंकरसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा बिदेसिने रकम बढ्ने विभागको अनुमान छ ।
'गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापत रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै बिदेसिने अनुमान छ', उनले भने।
चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, एक सय ५० जना प्रतिनिधि र तीन सय ९२ जना आश्रितका लागि सिफारिस गरेको छ ।
फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।
विभागका अनुसार फागुनसम्म दुई सय ३९ उद्योगका लागि रू ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार एक सय ९६ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।