
पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ ।
तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा हर्कपुर सडकखण्डमा कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कार्यालयले कारबाहीस्वरुप स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको हो ।
दुवै सडक कालोपत्रको ठेक्का शंकरमाली निर्माण सेवा काठमाडौंले पाएको थियो । विभिन्न मितिमा म्याद थप भए तापनि हालको मितिसम्म पटक–पटक पत्राचार र सरोकारवालासँग छलफल गर्दा पनि निर्माण व्यवसायीबाट कार्यप्रगति धेरै न्यून रही सन्तोषजनक नपाइएकाले कम्पनीलाई कारबाहीस्वरूप स्पष्टीकरण सोधिएको पूर्वाधार कार्यालयका प्रमुख दिनेश घिमिरेले जानकारी दिए ।
ठेक्का सम्झौताको शर्त र सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा (७) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र नियमावलीको नियम ११३ को उपनियम (६) मा भएको प्रावधान र बोलपत्र सम्झौताको टर्मिनेशन अफ कन्ट्रयाक्टका शर्तबमोजिम कम्पनीसँग चैत १० गतेभित्र स्पष्टीकरण माग गरिएको छ ।
‘सोहीबमोजिम ठेक्का खारेज गरी कालोसूचीमा राख्नेसम्बन्धी कारबाही किन अगाडि नबढाउने ? सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्माण व्यवसायीलाई पत्राचार गरिएको छ,’ प्रमुख घिमिरेले भने । उनका अनुसार निर्माण कम्पनीबाट चित्तबुझ्दो जवाफ नआएमा ठेक्का खारेज गरी कालोसूचीमा राख्ने कारबाही अगाडि बढाइनेछ ।