
बुटवलस्थित न्यू होराइजन आवासी अंग्रेजी माध्यमिक विद्यालयले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ ।
आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, राजीव श्रेष्ठ, प्रकाश खनाल, विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचन लगायतले मल्ललाई सम्मान गरेका हुन् ।
विद्यालयले मल्ललाई नगद २१ हजार ५०० रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
बुटवल उपमहानगरपालिका–११ देवीनगर घर भई कक्षा ३ देखि न्यू होराइजन माविमा पढ्दै आएका मल्ल हाल न्यू होराइजन अन्तर्गतकै क्षितिज इन्टरनेशनल कलेजमा बीबीएस प्रथम वर्षमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन् ।
आफ्नो शैक्षिक संस्थाको विद्यार्थी मल्लले हालै काठमाडौंमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप ‘लिग टू’ को अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्याउन योगदान गरेको भन्दै सम्मान गरेको विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारीले बताए ।
सो अवसरमा प्रशिक्षक गौचनले राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरू उत्पादनमा न्यू होराइजनको पनि ठूलो योगदान रहेको बताए ।
न्यू होराइजनबाट कुशलसहित राहुल विक र सुशन भारी सिनियर टीममा तथा जुनियर राष्ट्रिय टिममा सौरभ खनाल, रुपेश बास्तोला, देवेन्द्र सोमरे, प्रकाश केसी, निर्मल थापा, स्विचेन शाह, नुरध्वज सेन र कृष्ण सेनले प्रतिनिधित्व गरिसकेका खेलाडी रहेको प्रशिक्षक गौचनले बताए ।
उक्त अवसरमा शिक्षक प्रकाश गौतमले निरन्तरको मेहनत,अनुशासनले कुशलले क्रिकेटमा सफलता हासिल गरेको बताए ।