०७ असार २०८३, आइतबार

'नेपालले राष्ट्रिय हितका आधारमा सबैसँग सन्तुलन कायम गर्नुपर्छ'

'नेपालले राष्ट्रिय हितका आधारमा सबैसँग सन्तुलन कायम गर्नुपर्छ'

विज्ञहरूले विश्व महाशक्तिहरूको रणनीतिक भूराजनीतिक प्रतिस्पर्धा तीव्र भएको भन्दै नेपालले राष्ट्रिय हितका आधारमा सबैसँग सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन् । 

राप्रपा नेपालको विदेश विभागद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूले भूराजनीतिक प्रतिस्पर्धा भइरहँदा नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैनिक वा राजनीतिक गठबन्धनमा सामेल हुनु नहुने पनि सुझाव दिएका छन् । 

पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको विश्व परिस्थितिबारे चर्चा गर्ने क्रममा फेरि दुई ध्रुवीय प्रतिस्पर्धाले शीतयुद्धको सम्भावना रहेको बताए । यसबाहेक छिमेकी भारत र चीन आर्थिक र सामरिक रूपमा शक्ति राष्ट्र बन्ने दिशामा रहेको अवस्थामा नेपाल चनाखो हुनुपर्ने उनको सुझाव थियो । 

‘महाशक्तिहरूको रणनीतिक र भूराजनीतिक प्रतिस्पर्धामा हाम्रो आफ्नो अडान स्पष्ट नहुँदा भविष्यमा राष्ट्रिय स्वार्थमा सम्झौता हुने सम्भावना रहन्छ,’ थापाले भने, ‘चीन र अमेरिकाबीचको तनाव, भारत र चीनबीचको तनावबीच हामीले सन्तुलित सम्बन्धमा जोड दिनुपर्छ । अहिले महाशक्तिहरूले प्रस्तुत गरेको क्षेत्रीय सुरक्षा अवधारणा नेपालले कसरी धारणा प्रस्तुत गर्ने भन्ने बारेमा पनि छलफल गरेर स्पष्ट साझा दृष्टिकोण तयार हुनु आवश्यक छ ।’

पूर्वकानुनमन्त्री एवं भारतका लागि पूर्व राजदूत नीलाम्बर आचार्यले हरेक शक्ति मुलुकसँग नेपालले सन्तुलनकारी सम्बन्ध राख्नुपर्ने बताए । 
आचार्यले छिमेकी भारत परिवर्तित परिस्थितिअनुसार नेपालसँग सम्बन्ध राख्न नचाहेको समेत स्पष्ट पारे । 

उनले नेपाल कुनै पनि सैनिक वा राजनीतिक आवरणको अन्तर्राष्ट्रिय गठबन्धनमा सहभागी हुन नहुने पनि सुझाव दिए । 
पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईले छिमेकीहरूसँग नेपालले द्विपक्षीय सम्बन्ध अघि बढाउनुपर्ने बताए । ‘छिमेकीहरूको सन्दर्भमा त्रिपक्षीय मामिला आउनु हुँदैन, त्रिपक्षीयको चर्चा नै आवश्यक हुँदैन,’ भट्टराईले भने । 

उनले  इपिजीका विषयमा नेपालका सदस्यले धेरै बोलेको तर भारतीयहरूले नबोलेको भन्दै यसमा धेरै चर्चा आवश्यक नभएको बताए । 

अन्तर्राष्ट्रिय मामिलाविज्ञ डा. निश्चलनाथ पाण्डेले विश्वमा नेपाल कूटनीतिक रूपमा एक्लिँदै गएको, ठूला मुलुकहरूबाट राजनीतिक तहको नभएर सहसचिव-उपसचिवस्तरका कर्मचारीहरूको भ्रमणमा सीमित रहेको भन्दै नेपालमा सामरिक साेच, गृहकार्य र तत्परता नभएको टिप्पणी गरे । 

सेनाका पूर्वउपरथी डा. पूर्ण सिलवालले मुलुकको परराष्ट्र सञ्चालनमा राजनीतिक दलहरूको विचार हाबी भएको, छिमेकी मुलुकहरू नेपालमैत्री नरहेको तथा वैदेशिक सम्बन्ध सञ्चालनमा विविधतासमेत नरहेको टिप्पणी गरे । 
नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)का सदस्य रहेका पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्यायले राजनीतिक नेतृत्व तहमा रहेकाहरूले नेपालको राष्ट्रिय हितका विषयमा कहिल्यै पनि छलफल नगर्ने परिस्थिति दुःखद रहेको बताए । 

उनले सन् १९५० को सन्धिलाई परिवर्तन गर्ने उद्देश्यले इपिजी गठन भएको तर भारतको दबदबाका कारण यो कार्य सम्भव नभएको टिप्पणी गरे । 
तर, सन्धि आफैँमा नेपालको स्वतन्त्रता र आर्थिक विकासको बाधा नभएको उनको भनाइ थियो । 

रुसका लागि पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले वैदेशिक मामिला सञ्चालनमा नेपाल आफ्नै कथ्यमा उभिनुपर्ने बताए । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक लालबाबु यादवले नेपालमा विदेश नीति नै नभएको बताए ।

कमेन्ट गर्नुहोस्