२४ जेठ २०८३, आइतबार

शुक्रवारबाट फ्लोरमा जाँदै फिल्म ‘नांगो गाउँ’, सकियो वर्कसप

शुक्रवारबाट फ्लोरमा जाँदै फिल्म ‘नांगो गाउँ’, सकियो वर्कसप

हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको फिल्म ‘नांगो गाउँ’ले १५  दिने वर्कसप सम्पन्न गरेको छ । 

निर्देशक लामाका अनुसार फिल्मको निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग–अलग रुपमा वर्कसप गरिएको हो । 

अन्तिममा भने कलाकारको टिमसँग वर्कसप गरिएको थियो । कलाकारहरूको वर्कसपमा अभिनेता दयाहाङ राई, कार्म, अभिनेत्री मिरुना मगरको साथमा कलाकारहरू शिशिर वाङ्देल, वुद्दि तामाङ, अंकित खड्का र रवीन्द्र झा सहभागी थिए ।

कलाकारहरूलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य तथ्य संरचनाका विषयमा प्रकाश पारिएको थियो । निर्देशक टिम र कलाकारबीचको अन्तरक्रियालाई रचनात्मक र प्रगतिशील बनाइएको निर्माणपक्षले बताएको छ ।

कुनै पनि पात्रले कुन संवाद किन बोल्दैछ ? कुन पहिरन किन पहिरिँदैछ ? कथालाई अगाडि बढाउन उसको भूमिका के हो ? लगायतका विषयमा विश्लेषण गरिएको निर्देशक लामाले बताए । ‘मैले अहिलेसम्म यति घनीभूत किसिमले वर्कसप गरेको थिइनँ । कलाकार तथा प्राविधिकहरूले सक्रियतापूर्वक सहभागिता जनाउँदा खुशी लागेको छ’– उनले भने ।

राजेश विश्वकर्माले सहजीकरण गरेको वर्कसपले पटकथामा लेखिएका दृश्यहरुलाई सशक्त रुपमा पर्दामा उतार्न सहयोग मिल्ने अभिनेता दयाहाङ राईले बताए ।

अभिनेत्री मिरुना मगरले वर्कसप निकै फलदायी भएको सुनाइन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाल बाहिर रहेकाले पनि उनी वर्कसपमा सहभागी हुन पाइनन् ।

यो फिल्मको छायांकन चैत्र १० गतेबाट काभ्रेमा सुरु गर्ने योजनामा यसको निर्माणपक्ष छ । फिल्मलाई आलोक शुक्लाले छायांकन गर्दैछन् । 

salt training

कमेन्ट गर्नुहोस्