०९ साउन २०८३, शनिबार

कुशल मल्ललाई बुटवल उपमहानगरद्वारा ५० हजार नगदसहित सम्मान

कुशल मल्ललाई बुटवल उपमहानगरद्वारा ५० हजार नगदसहित सम्मान

बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ । 

बुटवल– ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५० हजारसहित सम्मान गरे । 

कार्यक्रममा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

सम्मानपछि बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताए ।  

नगरमा खेलकुद क्षेत्रको विकासको लागि ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको भन्दै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।   

कार्यक्रममा बोल्दै क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले बुटवल उपमहानगरले सम्मान गरेर खेल क्षेत्रको हौसला बढाएको बताए ।

उनले बुटवलमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै बुटवल उपमहानगरको प्रयास उत्कृष्ट रहेको र यसमा खेल क्षेत्रको साथ रहने बताए ।

खेलाडी कुशल मल्लले बुटवल उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्