१८ असार २०८३, बिहीबार

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यमा आज टुँडिखेलमा घोडेजात्रा पर्व मनाइँदै

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यमा आज टुँडिखेलमा घोडेजात्रा पर्व मनाइँदै
फाइल फोटो

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा मंगलवार घोडेजात्रा कार्यक्रम गर्दैछ ।

त्यस अवसरमा सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम गरी घोडेजात्रा समारोहको आयोजना गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  

समारोहमा अश्वकलाअन्तर्गत २ चरणमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरी लगायतका विविध रोमाञ्चक कलाहरू प्रदर्शन गरिने छ । 

घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आएको परम्परा हो । परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा मनाइन्छ घोडेजात्रा मनाउने गरिँदै आएको छ । 

यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नाका साथै जात्राले देशमा शुभमंगल ल्याउने विश्वास गरिन्छ । पाटनको एकल घोडेजात्रा लोकप्रिय जात्रा हो । 

वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सैयौंको संख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ र ती घोडाहरू जहाँ–जहाँसम्म पुग्दछन्, त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ । 

सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, कायममुकायम प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका  अध्यक्ष, मन्त्रिगण लगायत विशिष्ट महानुभावको सहभागिता हुनेछ । 

घोडेजात्रामा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका लागि १०, अश्वकलाका लागि ४६ र दौड विशेषका लागि पानी १० वटा घोडा रहेको निर्देशनालयले जनाएको छ ।

समारोहको नेपाल टेलिभिजन लगायतका विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्