
अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।
कङ्गोको पूर्वी किभु र इतुरीमा सशस्त्र विद्रोहीहरूले हमला गरेका थिए । उनीहरूले गत शनिवार यी २ प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् ।
इतुरीको एक गाउँमा उनीहरूले सर्वसाधारणमाथि गोली चलाएका थिए । रातिको समयमा आएका सशस्त्र समूहका सदस्यले गरेको हमलामा परेर कम्तीमा पनि १० जना सर्वसाधारणको ज्यान गएको हो ।
उत्तरी किभुमा पनि उनीहरूले गाउँलेमाथि हमला गरेका थिए । ती हमलामा परेर सर्वसाधारण मारिएका छन् । इतुरी र यस आसपासका गाउँमा भएको हिंसात्मक आक्रमणमा परेर ११ जना सर्वसाधारण मारिएका बताइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका सहायक प्रवक्ता फराह हकले हत्याबारे जानकारी दिए । उनले पछिल्ला केही हप्तामा पूर्वी कङ्गोका कैयौं स्थानमा सरकारसँग विद्रोह गरेको समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेको छ ।
संयुक्त राष्ट्रसंघीय मिसनले शान्ति स्थापनाका लागि प्रयास गरेको भए पनि हिंसाको अन्त्य हुन सकेको छैन ।