पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चैत ७, २०७९
चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।
अहिलेको विश्व परिस्थितिले चीन र रुस दुवैलाई आइलागेको बाह्य चुनौतीको सम्बोधनका लागि द्विपक्षीय सम्बन्धमा थप स्तरोन्नति गर्न प्रेरित गरेको छ ।
अहिले अन्तर्राष्ट्रिय प्रणाली विश्वयुद्धकै स्तरमा संकटको चरणमा छ । लगभग एक दशकअघि पश्चिमको समर्थनमा किएभमा युरोमैदान कूसँगै यस संकटको आरम्भ भएको हो । त्यतिखेर रुसले क्राइमिया नियन्त्रणमा लिएर पश्चिमलाई जवाफ फर्काएको थियो । त्यस घटनाले अमेरिका र रुसबीचको लामो द्वन्द्वलाई प्रेरित गरेको थियो ।
त्यसको तीन वर्षपछि अमेरिकाले चीनका विषयमा बनाएको सम्पर्क बढाउने नीतिलाई अचानक परिवर्तन गर्दै व्यापार र प्रविधि युद्ध शुरू गरेको थियो । फलस्वरूप, वाशिङटन र बेइजिङबीच भिडन्तको स्थिति आयो ।
पोहोर साल रुसले युक्रेनविरुद्ध सैन्य कारवाही शुरू गरेको थियो । रुसको ढोकामा आइपुगेको अमेरिकी जोखिमलाई सखाप पार्नका लागि युक्रेनविरुद्ध कारवाही चलाएको रुसीहरूको मान्यता छ । त्यससँगै रुस र अमेरिकाको द्वन्द्व छद्मयुद्धमा परिणत भएको छ ।
यही समयमा वाशिङटनले बेइजिङविरुद्धको दृष्टिकोण थप कठोर बनाएको छ । त्यही क्रममा उसले चीनविरुद्ध एसिया तथा युरोपमा साझेदार तथा सहयोगीहरू एकजुट गरिरहेको छ ।
त्यस पृष्ठभूमिमा ताइवानसम्बन्धी तनाव व्यापक रूपमा बढेको छ । ताइवानका विषयमा वाशिङटनले सशस्त्र द्वन्द्व गराउने सम्भावनालाई नकार्न सकिन्न ।
यहाँ युक्रेनको नियति वा ताइवानको भविष्य मात्र दाउमा छैन । वर्तमान विश्व व्यवस्था र त्यसलाई सञ्चालन गर्ने सिद्धान्त अर्थात् अमेरिकाको विश्वव्यापी प्रभुत्व नै पनि प्रश्नको घेरामा छ ।
अमेरिकी प्रभुत्वलाई मस्को र बेइजिङ दुवैले अस्वीकार गरेका छन् । विगत केही वर्षयता अमेरिकाले अहिलेको स्थितिलाई प्रमुख शक्ति प्रतिस्पर्धाका रूपमा व्याख्या गर्दै आएको छ । बीसौं शताब्दीमा भएका दुवै विश्वयुद्धका पछाडि यही प्रतिस्पर्धा कारण थियो ।
रुसी र चिनियाँहरूले सन् १९९० को दशकदेखि नै अमेरिकी नेतृत्वको एकध्रुवीयताबाट बहुध्रुवीय विश्व व्यवस्थातर्फ जानुपर्ने विषयमा पैरवी गरिरहेका छन् । उनीहरूको यस अडानलाई एसिया, मध्यपूर्व, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूलाई समर्थन प्राप्त हुन थालेको छ । त्यसको नतिजाका रूपमा प्रणालीगत परिवर्तनको प्रक्रिया आरम्भ भइसकेको छ ।
यसको प्रतिक्रियाका रूपमा अमेरिकाले जस्तोसुकै मूल्य चुकाउनुपर्ने भए पनि विश्वव्यापी नियन्त्रणको प्रतिरक्षा गरिरहने रणनीति अंगीकार गरेको छ । अमेरिकीहरूका लागि चीनको उदय, सोभियत पतनबाट रुसको अनपेक्षित पुनरुत्थान अनि इरानको क्षेत्रीय तथा आणविक महत्त्वाकांक्षाका रूपमा तेर्सिएका चुनौतीहरू असह्य छन् ।
बेइजिङले पश्चिमसँग विशाल तथा नाफामूलक आर्थिक सम्बन्ध राख्नका लागि गहन चासो देखाएको छ । रुसले मिन्स्क सम्झौताबमोजिम डोनबास संकट समाधान गर्न प्रयास गरेको थियो । इरानले आणविक सम्झौता पालनमा प्रतिबद्धता व्यक्त गरेको छ ।
तर अमेरिकाले उनीहरूका विरुद्ध लगातार आक्रामकता देखाइरहेको छ । समय आफ्नो पक्षमा छैन भन्ने कुरा अमेरिकाले मज्जैले बुझेको छ अनि आफ्नो पक्षमा शक्तिसन्तुलन ढल्काउनका लागि कटिबद्ध भएर लागेको छ ।
मस्कोलाई युक्रेनविरुद्ध सैन्य कारवाही चलाउनका लागि उत्तेजित गर्नु रुसलाई कमजोर र एक्लो बनाउने प्रयास हो । ताइवान क्षेत्रमा तनाव बढाएर चीनलाई दबाब दिने तथा एसिया प्रशान्त क्षेत्रमा बेइजिङविरोधी गठबन्धन बलियो बनाउने अमेरिकाको प्रयास हो ।
वाशिङटनका अनेकौं साझेदारलाई परिचालन गर्ने तथा अनुशासनमा राख्ने अमेरिकाको रणनीति हो । यी विभिन्न खेमामा अमेरिकाको नेतृत्व विश्व साम्राज्यको आकांक्षाको पछिल्लो संस्करण हो । त्यो अहिले जति स्पष्ट यसअघि कहिले पनि भएको थिएन ।
अहिले बेलायत र फ्रान्स जस्ता ठूला शक्ति तथा अग्रणी औद्योगिक शक्तिहरू शीतयुद्धकालमा भन्दा अमेरिकाको नीतिसँग बढी बाँधिएका छन् । नेटोलाई हिन्द प्रशान्त क्षेत्रमा जानका लागि प्रेरित गरी अनि चीनलाई विशेष रूपमा तारो बनाउने (अकस) नयाँ सैन्य खेमाको निर्माण गरी वाशिङटनले आफ्ना साझेदारहरूलाई चीन र रुसविरुद्ध उपयोग गरिरहेको छ । यी दुवै शत्रुलाई एक एक गरी पराजित गर्ने आशा अमेरिकाले लिएको छ । पहिला, रुसलाई प्रमुख शक्तिबाट घटुवा गराउने अनि चीनलाई अमेरिकी शर्त मान्न लगाउने उसको रणनीति हो ।
यस्तो अवस्थामा चीन र रुसको रणनीति के हुन सक्छ ? चीन र रुस दुवै प्रमुख शक्ति हुन् । विश्व मञ्चमा आफ्नो रणनीति अवलम्बन गर्न उनीहरू दुवै सार्वभौम छन् । आ–आफ्नो राष्ट्रिय स्वार्थका आधारमा उनीहरू रणनीति बनाउँछन् । मस्को–बेइजिङ सम्बन्ध अमेरिकी नेतृत्वको पश्चिमी साझेदारीमा विद्यमान खेमाबन्दीबाट टाढा छ ।
पहिला मस्कोलाई पराजित गर्ने अनि बेइजिङलाई तारो बनाउने वाशिङटनको योजना थाहा पाएका चिनियाँ र रुसी नेताहरूले त्यसलाई भत्काउनुपर्ने कुरा बुझेका छन् । परिणामस्वरूप, रुसलाई चिनियाँहरूले घातक हतियार सहयोग गर्न सक्ने भनी त्यसो नगर्न अमेरिकाले दिएको चेतावनी प्रत्युत्पादक हुन सक्छ ।
यस्तो चेतावनीलाई दुवै देशका नेताले कठोर तथा अपमानजनक रूपमा लिएका छन् । अझ अमेरिकाले ताइपेइलाई हतियार दिइरहेको सन्दर्भमा यो चेतावनी झनै आपत्तिजनक छ ।
चीनले अमेरिका र युरोपेली संघका बजारमा आफ्ना वस्तु तथा सेवाको व्यापारका विषयमा चिन्ता लिएको भए पनि वाशिङटन तथा उसका साझेदारलाई साँच्चै विश्वास गर्न सकिन्छ कि सकिँदैन भनी गमिरहेको छ । डोनबास संकट समाधानका लागि गरिएको मिन्स्क सम्झौता रुसविरुद्ध कारवाहीका लागि समय लिने चाल थियो भनी जर्मनी र फ्रान्सका पूर्व नेताहरूले भनिरहेको सन्दर्भमा चीनलाई पश्चिमप्रति विश्वास गरिहाल्न गाह्रो परेको छ ।
त्यसैले बेइजिङ र मस्कोबीच थप समन्वय अपेक्षा गर्न सकिन्छ । यसले युरेसियाली क्षेत्रमा नयाँ सैन्य खेमा जन्माउँदैन, बरू विश्वलाई थप द्रुत गतिमा बहुध्रुवीयतातर्फ जानका लागि सहायता गर्छ । त्यसले वस्तुतः अमेरिकाको विश्वव्यापी प्रभुत्वलाई वस्तुतः अन्त्य गर्छ ।
अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलरको भूमिका घटाएर त्यो प्रभुत्व भत्काउन सकिन्छ । चीन र रुसबीचको द्विपक्षीय कारोबारमा अहिले चिनियाँ मुद्रा युआनको उपयोग अत्यधिक हुन थालेको छ । तेस्रा मुलुकहरूसँगको कारोबारमा पनि युआनको उपयोग गर्न सकिन्छ ।
नयाँ विश्व व्यवस्था ल्याउनका लागि गैरपश्चिम संस्थाहरूको स्तरोन्नति अर्को उपाय हुन सक्छ । ब्रिक्स र शाङ्हाई कोअपरेशन अर्गनाइजेशन जस्ता संस्थाले अर्थ तथा प्रविधि, ऊर्जा तथा जलवायु अनि अन्तर्राष्ट्रिय सुरक्षा लगायतका क्षेत्रमा विश्वका लागि एजेन्डा निर्माण गर्न सक्छन् ।
विश्वव्यापी भूआर्थिक मात्र नभई भूराजनीतिक खेलाडीका रूपमा चीनको उदय भएको उदाहरण इरान र साउदीका बीचमा उसले गराएको सम्झौताले दिएको छ । त्यसलाई नयाँ व्यवस्थातर्फको व्यावहारिक कदमका रूपमा रुसले स्वागत गरेको छ ।
अमेरिका र उसका युरोपेली साझेदारहरूमा मध्यपूर्व, एसिया, अफ्रिका र दक्षिण अमेरिकाका मुलुकहरूको आर्थिक तथा राजनीतिक निर्भरता घटाउन संयुक्त रूपमा काम गर्दा मस्को र बेइजिङ सफल हुन सक्छन् ।
सैन्य सुरक्षाको क्षेत्रमा रुस र चीनले निकट सहकार्यबाट लाभ लिन सक्छन् । अमेरिकालाई युक्रेनविरुद्धको छद्मयुद्ध चर्काउनबाट अनि ताइवानका नाममा बेइजिङलाई उत्तेजित पार्नबाट रोक्नु उनीहरूको प्रमुख लक्ष्य हो ।
प्रमुख शक्ति प्रतिस्पर्धा तथा वास्तविक द्वन्द्वको वर्तमान परिस्थितिमा आणविक नीति र आणविक प्रसारका विषयमा गहन संवाद महत्त्वपूर्ण छ । बहुध्रुवीय भविष्यतर्फ जानका लागि प्रयास गर्दै गर्दा पुटिन र सीले प्रमुख शक्तिहरूबीच गोली हानाहानको स्थिति नआउने जिम्मेवारी वहन गर्नुपर्छ । सुरक्षा विषयमा चीन र रुसले थप निकट रही सहकार्य गरेमा बहुध्रुवीयतातर्फको यात्रा सुरक्षित हुनेछ ।
आरटीमा प्रकाशित दिमित्री त्रेनिनको आलेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...