![अलपत्र रंगशाला अगाडि उभिएर धुर्मुशले भने- डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको छु [भिडियो]](https://lktcdn2.prixacdn.net/media/dhurmus_UETsNzdjdZ.jpg)
कलाकार सीताराम कट्टेल 'धुर्मुशले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने आफ्नो आशा अझै नमरेको बताएका छन्।
उक्त रंगशाला निर्माण गर्न नसकेपछि त्यसबाट बाहिरिएका उनी लामो समय गुमनाम जत्तिकै थिए।
यस्तोमा आज उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै अलपत्र चितवनस्थित निर्माणाधीन रंगशालामै पुगेर आफूले डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको बताएका छन् ।
‘धुर्मुस–सुन्तली फाण्डेसन’को फेसबुक पेजमा उक्त भिडियो राखिएको छ।
भिडियोमा उनले आफूमाथि करोडौं भ्रष्टाचारको आरोप लागिरहेको भन्दै हिसाब देखाउन तयार रहेको पनि बताएका छन्।
'करोडौं ‘भ्रष्टाचार गरे गाडी जोडे, स्वीमिङ पुलसहितको घर जोडे भनेर आरोप लगाइयो । हो, घर छ, स्वीमिङ पुलसहितको । रातदिन रोएको आँशुको भेलले बनेको स्वीमिङ पुल छ । घर, गाडी हामीले २०६७ सालमै जोडिसकेका थियौँ,’ धुर्मुसले भिडियोमा बोलेका छन्।
उक्त भिडियोमा उनी भावुक भएका छन्।
उनले रंगशालाका लागि उठेको पैसा जस्ताको त्यस्तै यसमै खर्च गरेको प्रस्ट्याएका छन्। उक्त परियोजनामा आफूहरू निमित्त र सहयोगी मात्र भएको उनले बताएका छन्।
आधा घण्टा लामो उक्त भिडियोमा उनले नेपाली क्रिकेट टीमका खेलाडीहरूलाई बधाई पनि दिए।
उनले रंगशाला निर्माणबारे आफूले अभिव्यक्त गरेका भनाइहरू धेरैमाझ पुर्याइदिन पनि आग्रह गरेका छन्।